चितवन । कालिका नगरपालिका वडा नम्बर ४ को आयोजनामा सञ्चालित २० दिने वारिष्टा (कफी बनाउने) तालिम आइतबार सम्पन्न भएको छ। “सिप सिकौं, स्वरोजगार बनौं” भन्ने नारासहित वडा नं. ४ को कार्यालय भवनमा एक कार्यक्रम आयोजनागरी तालिममा सहभागी २५ जना प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण गरिएको हो । समापन कार्यक्रममा कालिका नगरपालिकाका मेयर विनोद रेग्मी प्रमुख अतिथिका रूपमा सहभागी थिए। उनले सीपमूलक तालिमहरू युवालाई आत्मनिर्भर बनाउने दिशामा एक महत्वपूर्ण पहल भएको भन्दै यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।
“रोजगारका लागि विदेशिने युवाहरूलाई अब आफ्नै नगरमै सिप सिकाएर स्वरोजगारमा लाग्ने वातावरण बनाउन जरुरी छ,” मेयर रेग्मीले भने। तालिम भूमिका टेक्निकल सर्भिस प्रा.लि., देवचुली–२, नवलपरासी (ब. पु.) को सहजीकरणमा सम्पन्न भएको हो। तालिम अवधिभर प्रशिक्षार्थीहरूले कफी बनाउने प्रविधि, ग्राहक सेवा, मेसिन सञ्चालन, व्यावसायिक शिष्टाचार, तथा कफी व्यवसाय सञ्चालनसम्बन्धी आधारभूत ज्ञान हासिल गरेका थिए। कालिका-४ का अध्यक्ष मकरमान श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा जनप्रतिनिधि, समाजसेवी, तालिम प्रशिक्षक तथा स्थानीय बासिन्दाहरूको समेत उपस्थिति रहेको थियो।
आयोजक संस्था अनुसार तालिमको उद्देश्य स्थानीय युवाहरूमा रोजगारीको अवसर सिर्जना गर्नुका साथै व्यवसायिक सिप विकास गर्नु हो। तालिममा सहभागीहरुले तालिमबाट हामीले सिकेका कुराले अब हामीले सानो लगानीमै कफी पसल सुरु गर्न सक्ने सम्भावना देखेका छौं। यसले भविष्यमा राम्रो आम्दानीको बाटो खोल्ने बताएका छन । कार्यक्रमको समापन गर्दै वडाअध्यक्ष श्रेष्ठले सहभागी सबैलाई बधाई दिँदै सिपलाई व्यावसायिक यात्रामा बदल्न सुझाव दिए। यस्ता तालिमहरूबाट युवाले आत्मनिर्भर बन्ने मात्र होइन, अरूलाई समेत रोजगार दिन सक्ने क्षमता विकास गर्ने विश्वास व्यक्त गरिएको छ।

