चितवन । रत्ननगरमा अबस्थित गामबेसीको चेपाङ संरक्षण केन्द्रलाई खाद्यान्न सहयोग गरिएको छ । अस्ट्रिया निवासी विदेशी नागरिक भेरोनिकाको जन्मदिनको अबसरमा केन्द्रमा आश्रित चेपाङ बालबालिकाको लागि खाद्यान्न सहयोग गरिएको हो । केन्द्रमा स्थापनाकाल देखि निरन्तर सहयोग गर्दै आएका अस्ट्रिया निवासी माया मुलर र उनका श्रीमान एम्मर मुलर तथा ग्रिन सोसाइटी नेपालका महासचिब शिरलाल परियारको पहलमा १ लाख ५० हजार रुपैया बराबरको खाद्यान्न सहयोग गरिएको हो ।
सहयोग हस्तान्तरण कार्यक्रममा भेरोनिकाका श्रीमान इमिल पनि सहभागी थिए । भेरोनिकाको जन्मदिनको अबसरमा केन्द्रमा खाद्यान्न सहयोगसंगै एकछाक खाना समेत खुवाइएको छ । केन्द्रलाई उनीहरुले ६० बोरा चामल, २ बोरा आलु, २ बोरा दाल, १ बोरा नुन, १० किलो मसला, १ बोरा प्याज, ५/५ किलो अदुवा, लसुन, २ कार्टुन साबुन र १ काटुन सर्फ प्रदान गरिएको ग्रिन सोसाइटीका महासचिव परियारले जानकारी दिए । मुलर दम्पतीले ३० किलो मासु सहित अन्य सहयोग समेत गरेका छन् । महासचिव परियारले मुलर दम्पतीले केन्द्रमा स्थापनाकाल देखि भौतिक निर्माण, खाद्यान्न र स्टेशनरी सहयोग गर्दै आएको बताए ।
खाद्यान्न हस्तान्तरणपछि भेरोनिका जन्मदिनमा आफ्नो देशमा खर्च नगरी शिक्षाको लागि केन्द्रमा आश्रित बालबालिकालाई खाद्यान्न सहयोग गरेको बताइन् । केन्द्रका अध्यक्ष केपिकिरण शर्माले मुलर दम्पतीको सहयोगले केन्द्र सञ्चालनमा सहज भएको बताए । १५० जना चेपाङ बालबालिका आश्रित केन्द्रमा बार्षिक ६० लाख रुपैया खर्च हुने जानकारी दिँदै शर्माले दाताहरुको सहयोगमा केन्द्र अहिलेसम्म धानिएको बताए ।

