कास्की । नेपालमै पहिलो पटक पोखरा महानगरपालिकाले कुकुर दर्ता अभियान सुरु गरेको छ । महानगरले कुकुर दर्ता तथा पालन अनुमति पत्र वितरण सुरु गरेको हो ।
पोखरा महानगरपालिकाले कुकुरलाई पाल्ने तर सडकमा छाडा छोड्ने व्यक्तिलाई ५ देखि १५ हजारसम्म जरिवाना तिराउने जनाएको छ । महानगरपालिका वडा नम्बर ८ बाट कुकुर दर्ता र पालन अनुमति पत्र वितरणको शुभारम्भ भएको हो ।
महानगरपालिका उपप्रमुख मञ्जु देवी गुरुङ र महानगरका प्रमुख प्रशासकीय अधिकृत महेश बरालले एक कार्यक्रमबिच अनुमति पत्र वितरणको शुभारम्भ गर्नुभयो । अबदेखि वडामा दर्ता भएका कुकुरलाई सार्वजनिक ठाउँमा छाडन नपाइने तथा दिसा पिसाब गराए जरिवाना लगाइने वडा अध्यक्ष रुद्रनाथ बरालले बताउनुभयो ।
महानगरका प्रमुख प्रशासकीय अधिकृत महेश बरालले यो कार्यक्रम राम्रो रहेको बताउँदै यसले सडक फोहोर अन्त्य गर्ने र वातावरण सफा हुने बताउनुभयो ।

