काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा हिजो पूर्वराजा ज्ञानेन्द्र शाहलाई विमानस्थलमा स्वागतका क्रममा भारत उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको फोटो राखिएको आरोप लगाएको छ।
राप्रपा प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले फेसबुकमार्फत प्रधानमन्त्री ओलीकै निर्देशनमा प्रमुख सल्लाहकार विष्णु रिमालले आदित्यनाथको फोटो राख्न लगाएको पाइएको गम्भीर आरोप लगाउनुभएको हो।
शाहीले लेख्नुभएको छ,’हिजो राजाको स्वागतमा भारतका मुख्यमन्त्री योगी आदित्यनाथको फोटो स्वयम् प्रधानमन्त्री केपी ओली ज्युको निर्देशनमा प्रधानमन्त्री ज्युका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले राख्न लगाइएको पाइएको छ, नेपाली राष्ट्रिय झन्डासहितको स्वागत कार्यक्रमलाई असर पार्नको लागि यस्ता कुकर्म गर्न थालेछन् छि छि ।’
’विदेशीको एजेन्डा र सिद्धान्तमा पार्टी चलाउनेहरूले ठुलो कुरा गरेको देख्दा अचम्म लागेको र माक्र्स, लेनिन, माओ कुन देशका हुन्?’ भन्दै उहाँले प्रश्न पनि गर्नुभएको छ।
हिजो विमानस्थल नजिक पूर्वराजा ज्ञानेन्द्रलाई स्वागत गर्ने क्रममा आदित्यनाथको फोटो प्रयोग भएपछि यसप्रति चौतर्फी चर्चासँगै आलोचना भएको थियो।

