चितवन । रत्ननगर वडा नं ५ स्थित झुवानी माविका विद्यार्थीहरुका लागि मनोसामाजिक तथा स्वास्थ्य जीवन सम्बन्धी अभिमुखीकरण कार्यक्रम गरिएको छ । वडा नं ५ वडा कार्यालयको सहयोगमा नारी जागरण केन्द्र र र्सिजनशिल सिकाइ केन्द्रको सयुक्त आयोजनामा कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रमको प्रमुख अतिथि वडा नं ५ का वडाध्यक्ष बालकृष्ण चापागाईँ रहेका थिए । कार्यक्रममा मेलमिलापकर्ता कविता अधिकारी र रोटरी क्लव अफ रत्ननगरका पूर्व अध्यक्ष विष्णु शर्माले सहजीकरण गरेका थिए ।
नारी जागरण केन्द्रकी अध्यक्ष विमला सुवेदी खनालको अध्यक्षतामा भएको कार्यक्रममा झुवानी माविका प्रधानाध्यापक नवीनचन्द्र भट्टराई, झुवानी सामुदायिक पुस्तकालयका अध्यक्ष अनिल अर्याल लगायतले मन्तव्य राखेका थिए । ९० जना विद्यार्थी सहभागी कार्यक्रममा तनाबका लक्ष्णहरु, व्यवस्थापन, घरपरिवार र समाजले खेल्नुपर्ने भूमिका, स्वमुल्याङ्कन, दुव्र्यवहार र त्यसको प्रतिकार लगायतका विषयमा सहजीकरण गरिएको थियो ।
केन्द्रकी अध्यक्ष सुवेदीले नारी जागरण केन्द्रले महिला सशक्तिकरण, विपन्नलाई शिक्षा, युवा स्वरोजगार तथा सीपमुलक तालिम, जनचेतनामुलक कार्यक्रम तथा पछिल्लो समय समस्याको रुपमा देखापरेको मनोसामाजिक समस्याका विषयमा विद्यार्थीलाई सचेत गराउन झुवानीमा कार्यक्रम आयोजना गरिएको बताइन् ।
केन्द्रकी महासचिव सरस्वती लामाले सञ्चालन गरेको सो कार्यक्रममा र्सिजनशिल सिकाइ केन्द्रका अध्यक्ष मीन प्रसाद सापकोटाले स्वागत मन्तव्य राखेका थिए ।


