चितवन। “निरन्तर बन्ध्याकरण तथा खोप तालिका, रेबिज मुक्त खैरहनी नगरपालिका” भन्ने नारासहित खैरहनी नगरपालिकाले सामुदायिक कुकुरहरूको निःशुल्क बन्ध्याकरण शिविर सञ्चालन गरेको छ । माघ २३ गतेबाट खैरहनी-६, चितवनमा सुरू भएको यो अभियान चार दिनसम्म सञ्चालन हुने छ ।
खैरहनी नगरपालिकाको पशु सेवा शाखाको आयोजनामा भएको यस कार्यक्रमको औपचारिक उद्घाटन नगर प्रमुख शशीकुमार खनियाले गर्नु भएको छ। उद्घाटन समारोहलाई सम्बोधन गर्दै नगर प्रमुख शशीकुमार खनियाले नगरपालिकालाई रेबिजमुक्त बनाउने लक्ष्यसहित निरन्तर रूपमा बन्ध्याकरण तथा खोप कार्यक्रम सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।
उहाँले भन्नुभयो, “रेबिज नियन्त्रण गर्नु हाम्रो दायित्व मात्र होइन, सुरक्षित र स्वस्थ समुदाय निर्माण गर्ने अभियान हो। नगरपालिकाले पशु स्वास्थ्यलाई प्राथमिकता दिँदै निरन्तर खोप तथा बन्ध्याकरण कार्यक्रम सञ्चालन गरिरहेको छ । हाम्रो नगरबासीले सुरक्षित वातावरणमा जीवनयापन गर्न पाऊन् भन्ने हाम्रो मुख्य उद्देश्य हो । यस अभियानलाई अझ प्रभावकारी बनाउन समुदायको सक्रिय सहभागिता आवश्यक छ । खैरहनी-५ का वडा अध्यक्ष छत्रनाथ सुवेदीले स्वागत मन्तव्य राख्दै कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्नुभयो ।
नगरपालिकाको यो पहलले खैरहनीलाई रेबिजमुक्त बनाउन र पशु स्वास्थ्य सुधार गर्न महत्वपूर्ण योगदान दिने विश्वास लिइएको र कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि नगरपालिका, वडा कार्यालय, पशु चिकित्सक, प्राविधिक तथा समुदायको सहकार्य अपरिहार्य रहेको नगरपालिकाले जनाएको छ।
नगर उपप्रमुख कविता उप्रेती, प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद सापकोटा, वडा नं. ५ का अध्यक्ष छत्रनाथ सुवेदी, वडा नं. ६ का अध्यक्ष कमलप्रसाद न्यौपाने, वडा सदस्य जिवन कुमार चौधरी र विकेन्द्र चौधरी, पशु चिकित्सकहरू डा. राजेश थारु, डा. मिलन खनाल, डा. निशान अर्याल, पशु सेवा प्राविधिक तेज विक्रम वली, मत्स्य प्राविधिक राकेश कुमार साह लगायतको उपस्थिति रहेको उद्घाटन कार्यक्रम पशु विकास अधिकृत डा. सुरक्षा कट्टेलले सञ्चालन गर्नुभएको थियो ।

