चितवन। चितवनको भरतपुर महानगरपालिका–९ शरदपुरमा गुणस्तरीय कृषि उपज उपलब्ध गराउने उद्देश्यले मेड एग्रो टेक प्रालि सञ्चालनमा आएको छ । २६ जना शेयर सदस्यहरुको दुई करोड रुपैयाँको लगानीमा मेड एग्रो टेक प्रालि सञ्चालनमा आएको हो ।
कृषि क्षेत्रका अनुभवी तथा अन्य क्षेत्रका व्यवसायी तथा विज्ञहरुको लगानीमा सञ्चालनमा आएको मेड एग्रो टेकको उद्घाटन वाग्मती प्रदेशसभा सदस्य एवं शिक्षा, स्वास्थ्य तथा कृषि समिति सभापति घनश्याम दाहालले गरेका हुन् ।
उद्घाटनको अवसरमा बोल्दै उनले प्रदेश सरकारले अनुदान तथा सहुलियत दरको ऋण उपलब्ध गराइरहेको भन्दै मेहनती किसानले अनुदानको आश नराखिकन मेहनतमा विश्वास गर्ने गरेको पनि बताए । नेपालमा फलफूलका बिरुवादेखि उच्च गुणस्तरीय बिउ विजन विदेशबाट ल्याउनुपर्ने अवस्थामा एग्रो टेक सञ्चालनमा आउँदा नेपाली मुद्रा विदेशीनबाट जोगिने बताए । उनले विगतमा कृषिलाई गरिबहरुको पेसाको रुपमा हेर्ने गरेकोमा अहिले कृषिलाई राम्रो पेशाको रुपमा लिएको बताए। दाहालले नेपाली रैथाने जातका बिउ बिजन तथा अन्नबालीहरु लोप हुने अवस्था आएको भन्दै तिनीहरुको संरक्षण गर्दै वंश सुधारमा एग्रोटेकले ध्यान दिनुपर्ने बताए ।
तेस्तै कार्यक्रममा मेड एग्रो टेकका अध्यक्ष ऋषिराम न्यौपानेले कृषि सामग्री आयात निर्यात तथा कृषि तालिम सञ्चालन गर्ने मुख्य उद्देश्यले मेड एग्रो टेक सञ्चालन गरिएको बताए ।
बजारमा कृषकहरुले गुणस्तरीय वस्तु तथा सेवा नपाइरहेको अवस्थामा एग्रो टेकले जातीय शुद्धतासहितको गुणस्तरीय कलमी एवं टिस्यु कल्चरबाट तयार गरिएको फलफूलका बिरुवा, कृषि सामग्रीहरुको सरल र सुलभ मूल्यमा बिक्री वितरण गर्ने न्यौपानेले बताए ।
गुणस्तरीय फलफूल, तरकारी र सौन्दर्य जातिका बिरुवाहरुको नर्सरी स्थापना गरी उत्पादित बिरुवा खरिद बिक्री गर्ने, इनडोर प्लान्टको उत्पादन तथा बिक्री वितरण गर्ने, गार्डेनिङ, ल्याण्ड स्केपिङको लागि परामर्श सेवा तथा संरचना बनाउने, कृषि सामग्री तथा बिउबिजन बिरुवा र कृषि उपजहरुको आयात निर्यात गर्ने, प्राङ्गारिक मल, जैविक मलको उत्पादन तथा खरिद बिक्री गर्ने, कौशी तरकारी तथा पुष्प खेतीको प्रवद्र्धन गर्ने कम्पनीको उद्देश्य रहेको छ । कृषिलाई प्रबद्र्धन तथा उच्चस्तरीय बिउविजन उत्पादन गर्नु नै कम्पनीको मुख्य लक्ष्य हो ।
कार्यक्रममा मेड एग्रो टेकका उपाध्यक्ष मिनराज भण्डारी, भरतपुर–१० का वडाअध्यक्ष एवं महानगरका प्रवक्ता अरुणपीडित भण्डारी,महानगरपालिकाका कृषि महाशाखाका तेजेन्द्र पौडेल, उद्योग वाणिज्य संघ चितवनका वरिष्ठ उपाध्यक्ष चुननारायण श्रेष्ठ, कृषि ज्ञान केन्द्र चितवनकी कमला न्यौपाने, कृषि विज्ञ डा ठानेश्वर पोखरेल, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका इन्द्र ढुंगाना, संगम टोल विकास संस्थाकी अध्यक्ष शोभादेवी पाण्डे, चितवन उद्योग संघका उपाध्यक्ष सूर्यप्रसाद न्यौपानेसहितको सहभागीता थियो ।











