चितवन । भरतपुर महानगरपालिकाले नगरभित्रको फोहोर भरतपुर–१ ठिमुरास्थित त्रिशूली नदी किनारमा फाल्ने निर्णय गरेसँगै स्थानीयले विरोध जनाएका छन् । महानगरको बोर्ड बैठकले तत्कालका लागि ठिमुरामा फोहोर फाल्ने निर्णय गरेको भन्दै स्थानीयले महत्वपूर्ण धार्मिकस्थल देवघाट नजिक रहेको यस क्षेत्रमा फोहोर फाल्न नदिने भन्दै आज विरोध जनाएका हुन् ।
महानगरले त्रिशूली नदी किनारको करिब एक बिघा बगर क्षेत्रमा फोहोर फाल्ने निर्णय गरेको छ । ठिमुराका स्थानीयवासीले यहाँ फोहोर फाल्न हुँदैन भन्दा भन्दै महानगरपालिकाबाट पेलेर निर्णय गरेको ठिमुरा टोल विकास समितिका अध्यक्ष क्षेत्रबहादुर सुवेदीले बताउनुभयो । पटक पटक ठिमुरालाई हेपेर विभिन्न निर्णयहरु गर्ने गरिएको भन्दै सुवेदीले ठिमुरामा फोहोर फाल्न हुँदैन भनेर आफूहरुले स्थानीय प्रशासन, जिल्ला समन्वय समिति, महानगरपालिका लगायतका क्षेत्रमा ज्ञापनपत्र बुझाएको समेत बताउनुभयो। ठिमुरामा फोहोर फाल्न नदिने विषयमा सबै स्थानीयहरु एकजुट भएर विरोध गरिने सुवेदीको भनाई छ ।
यसअघि पनि भरतपुर महानगरपालिकाले ठिमुरामा पशु बधशाला निर्माण गर्ने भनेर निर्णय गरेको थियो । ठिमुरावासी र देवघाटका धार्मिक अगुवाहरुले पशु बधशाला निर्माणको व्यापक विरोध जनाएपछि महानगरपालिका सो निर्णयबाट पछि हटेको थियो । केही दिन अगाडि ठिमुरामा फोहोर फाल्ने विषयमा छलफल गर्न भनेर मेयर रेनु दाहाल उपमेयर पार्वती शाह ठकुरी सहित सात÷आठ जना वडाअध्यक्ष ठिमुरा गएका स्थानीय लक्ष्मण अधिकारीले बताउनुभयो ।
छलफलमा सहभागी भएका सबैले महानगरको निर्णय ठाडै अस्वीकार गरेको भए पनि महानगरको बोर्ड बैठकबाट जबरजस्ती फोहोर फाल्ने निर्णय गरिएको अधिकारीको भनाइ छ ।महानगरले नौ महिनाका लागि त्रिशूली किनारमा लगेर फोहोर फाल्ने निर्णय गरेको हो । ठिमुरामा फोहोर फालिँदा धार्मिक हिसाबले मात्रै नभएर स्वास्थ्यका दृष्टिकोणबाट समेत अनुपयुक्त भएको डा.प्रमोद लामिछानेले बताउनुभयो ।
फोहोर फाल्ने ठाउँको विषयमा विभिन्न प्रावधानहरु हुने भन्दै फोहोर फाल्ने स्थानमा वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) गर्न स्थानीयले जोड दिएका छन् । भरतपुर महानगरपालिकाले फोहोर फाल्ने तयारी गरेको ठाउँ देवघाट क्षेत्र विकास समितिको भौगोलिक क्षेत्रभित्र पर्ने समाजसेवी एवं देवघाट क्षेत्र विकास समितिका पूर्वअध्यक्ष टंकनाथ पौडेलले बताउनुभयो ।

