चितवन । रेष्टुरेन्ट एण्ड बार एशोसियसन(रेवान) सौराहाको १८औं बार्षिक साधारण सभा आइतबार गरिएको छ । रेष्टुरेन्ट एण्ड बार एशोसियसन नेपालका केन्द्रीय अध्यक्ष संघर्ष विष्टले उद्घाटन गरेको सो कार्यक्रममा व्यवसायीहरुले पर्यटन क्षेत्रलाई उद्योगको मान्याता दिन सरकारसंग माग गरेका छन् ।
पर्यटन क्षेत्रलाई उद्योगको मान्याता नदिएका कारण विकासक्रमले गतिलिन नसकेको भन्दै उनीहरुले पर्यटन क्षेत्रप्रति सरकारले विभेदकारी नीति अबलम्बन गरेको बताएका थिए ।
कार्यक्रमका प्रमुख अतिथि रेवानका केन्द्रीय अध्यक्ष विष्टले पर्यटन क्षेत्रलाई सरकारले उद्योगको मान्यता दिन ढिला गर्न नहुने बताए । अध्यक्ष विष्टले अनावश्यक कोलाहाल, ध्वनी प्रदुर्षण र कंक्रिट भवनका कारण सफारी पर्यटनमा आधात पुगेको भन्दै सफारी पर्यटनको गरिमा जोगाउन व्यवसायी चनाखो हुनुपर्ने बेला आएको बताए । उनले पर्यटन उद्योगमा गरिएको लगानी संरक्षणको लागि सौराहाको सफारी पर्यटन जोगाउनु पर्ने बताए । क्षेत्रीय होटल संघ चितवन सौराहाका अध्यक्ष गंगा गिरीले बाढी र पहिरोका कारण चितवनको पर्यटनमा असर परेको बताए । पर्यटन क्षेत्रलाई उद्योगको मान्याता दिन सरकारले आनाकानी गरिरहेको भन्दै उनले सौराहा नाम मात्रको तेस्रो पर्यटकीय गन्तव्यको रुपमा चित्रण हुन थालेको बताए ।
रत्ननगर उद्योग बाणिज्य संघका अध्यक्ष शंकर गिरीले सौराहामा पर्यटक आर्र्कषित गर्न छुट व्याकेजका कार्यक्रम सहित परम्परागत खानाका परिकारलाई स्थान दिनुपर्ने बताए । राज्यको दाहोरो कर नीतिका कारण व्यवसायिक क्षेत्रलेमा असर परेको भन्दै उनले भूकम्प, कोरोना र आर्थिक मन्दीको चपेटामा परेका व्यवसायीलाई राज्यले सहुलीयत दिन नसकेको जिकिर गरे । रेवान सौराहाका पूर्व अध्यक्ष पुरुषोत्तम श्रेष्ठले सौराहाको विकासको लागि सरकारी सहयोग शुन्य रहेको बताए ।
सरकारले व्यवसायीलाई सहुलीयत दिनुको सट्टा कर माथि कर थुपारेर सास्ती दिएको उनले आरोप लगाए । रेवान सौराहाका अध्यक्ष ध्रुव गिरीले सौराहाको सफारी पर्यटन जोगाउन सकिने थुप्रै सम्भावना अझै जीवित रहेको बताए । सौराहा अहिले सम्म विग्रेको छैन उनले भने यसको गरिमा जोगाउन व्यवसायीको इच्छाशक्ति आवश्यक छ । कार्यक्रममा रेवान सौराहाका महासचिव नवीन नेपालले प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष कृष्णप्रसाद खतिवडाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
साधारण सभाको बन्दसत्रले प्रतिवेदन पारित गर्दै सौराहा फुड फेष्टिवलको संयोजकमा सम्भूप्रसाद माली र सहसंयोजकमा कृष्ण भट्टलाई चयन गरेको छ । रेवान सौराहामा उपाध्यक्ष सम्भूप्रसाद मालीले स्वागत मन्तव्य राखेको सो कार्यक्रममा वडा नं ६ का वडाध्यक्ष किरण महतो, मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष दुर्गाप्रसाद घिमिरे, रेवान महिला समुहकी अध्यक्ष लक्ष्मी विडारी लगायतले मन्तव्य राखेका थिए ।

