चितवन । माडी नगरपालिका कृषि शाखाले चालू आर्थिक बर्ष व्यवसायिक कृषि प्रबर्द्धनात्मक अनुदानलाई प्राथमिकता दिएको छ ।अनुदानका लागि विनियोजित कुल ६३ लाख रुपैंया बजेटबाट शाखाले कृषि फर्म, कृषि समूह वा सहकारीमार्फत पाँचवटा शीर्षकमा लागतको ५० प्रतिशतसम्म अनुदानको प्रवन्ध गरेको हो । यस अन्तरगत सिंचाईका निम्ति २ इञ्चको बोरिङ निर्माण र मोटर जडानका लागि १६० संख्यामा प्रतिइकाई बढीमा २५ हजार रुपैंयासम्म अनुदानको व्यवस्था गरिएको छ ।
त्यस्तै मौरी सहितको घार वितरणका निम्ति १६० संख्यामा प्रतिइकाई ५ हजार रुपैंया अनुदानको व्यवस्था रहेको छ । यस्तै, ड्याङ ढाक्ने (मल्चिङ) प्लास्टिक वितरणका लागि ११० संख्यामा प्रतिइकाई २ हजार २५० रुपैंया र इलेक्ट्रिक स्प्रेयर वितरणका लागि १०० संख्यामा प्रतिइकाई २ हजार ५०० रुपैंयासम्म अनुदानको व्यवस्था रहेको नगर कृषि शाखा प्रमुख किरण पौडेलले बनाउनुभयो ।
यसबाहेक प्लास्टिक टनेल निर्माणका लागि १० संख्यामा प्रतिइकाई १ लाख रुपैंया अनुदान दिने कार्यक्रम समेत रहेको शाखा प्रमुख पौडेलले जनाउनुभयो । अनुदान पाउनका निम्ति कृषक फर्म, समूह वा सहकारीले आउँदो असोज २१ गतेभित्र कृषि शाखामा आवेदन गर्नुपर्ने समयसीमा तोकिएको छ ।

