बंगलादेश । बंगलादेशमा फेरि हिंसात्मक प्रदर्शन भड्किएको छ । यसमा परी कम्तिमा ७६ जनाको मृत्यु भएको छ भने सयौँ व्यक्तिहरू घाइते भएका छन् । आइतबार विद्यार्थीहरूले प्रदर्शन गर्ने क्रममा प्रहरी र सत्ताधारी पार्टीका सदस्यहरूसँग उनीहरूको झडप भएको थियो । उक्त झडपले हिंसात्मक रूप लिएको हो । प्रदर्शनकारीहरूले एक प्रहरी चौकीमा आक्रमण गर्दा १३ जना प्रहरीको मृत्यु भएको छ ।
प्रदर्शनकारीहरूले प्रधानमन्त्री शेख हसिनाको राजीनामा मागेका छन् । प्रदर्शनक नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यासलगायत प्रहार गरेको छ । तर, प्रदर्शन झन् उग्र बन्दै गएको छ । सरकारले आइतबार बेलुका राष्ट्रव्यापी कर्फ्यूको आदेश दिएको छ । आरक्षणको विरोधमा सुरु भएको बंगलादेशको प्रदर्शन सरकारविरोधी प्रदर्शनमा रुपान्तरीत भएको बीबीसीले जनाएको छ । यसमा मान्छेहरूको निराशा सडकमा पोखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् । प्रदर्शन उग्र बन्दै गएपछि बंगलादेशमा मोबाइल तथा इन्टरनेट बन्द गरिएको छ ।
उता बंगलादेशका कानुन तथा न्यायमन्त्री अनिसुल हकले भने आफूहरूले संयम देखाएको र त्यसको पनि सीमा रहेको टिप्पणी गरेका छन् । उनीसँगको कुराकानी भन्दै बीबीसी हिन्दीले लेखेको छ- यदि हामीले संयम नदेखाएको भए देशमा खुन-खराबी हुन्थ्यो । मलाई लाग्छ कि हाम्रो धैर्यताको पनि सीमा छ ।

