काठमाडौं । गायिका विष्णु माझीको अवस्थाबारे जानकारी लिन प्रहरीले चासो देखाएको छ । जिल्ला प्रशासन कार्यालय स्याङ्जाले आग्रह गरेपछि प्रहरीले विष्णु माझीको अवस्थाबारे जानकारी लिने प्रयास गरेको छ ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाको एक टोली विष्णुको माइती घर पुगेर जानकारी लिएको छ । “जिल्ला प्रशासन कार्यालयबाट आग्रह आएपछि हाम्रो टोली विष्णुको माइती घर पुगको थियो,” जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी प्रमुख एसपी होविन्द्र बोगटीले भने, “तर, उनको माइतीमा बुवा र दाजुभाइ कोही पनि नभएकाले खासै धेरै जानकारी पाउन सकिएन । छिमेकमा बुझ्दा उहाँ लामो समयदेखी माइती नगएको बुझिएको छ ।”
विष्णुका सुभचिन्तक तथा स्रोता/दर्शकले उनको अवस्थाबारे चासो देखाएपछि राष्ट्रिय मानव अधिकार आयोगले उनको अवस्था बुझ्न जिल्ला प्रशासन स्याङ्जालाई पत्राचार गरेको थियो ।
केही वर्ष अगाडि जिल्ला प्रशासन कार्यालय स्याङ्जामा उपस्थित भएर विष्णुले आफूलाई पारिवारिक दबाब नरहेको बताएकी थिइन् । आफू राजीखुसी मिडियामा नआएको बताएकी थिइन् ।
विष्णुका श्रीमान् सुन्दरमणि अधिकारीले उनलाई दबाबमा बाहिर आउन नदिएको टिका–टिप्पणी हुँदै आएको छ । तर, उनले यो आरोपलाई नकार्दै आएका छन् ।
केही समय अगाडि विष्णुको स्वरमा तिज गीत ‘चरी जेलैमा’ बजारमा आएको थियो । उक्त गीत विष्णुकै जीवनमा मेल खाने रहेको स्रोता तथा दर्शकको अनुमान लगाएका थिए । यद्यपि, सो गीत सुन्दरमणिले नै लेखेका हुन् । भिडियो निर्देशन पनि सुन्दरमणि कै हो ।
लोकदोहोरीमा विष्णु माझीको लोभलाग्दो क्रेज छ । उनी प्रति गीत रेकर्ड गराएको दुई लाख रुपैयाँ पारिश्रमिक लिन्छिन् । यति महंगो पारिश्रमिक लिने नेपालमा विष्णु एक मात्रै गायिका हुन् ।

