चितवन । उद्योग वाणिज्य संघ–चितवनको सचिवालयमा एक कार्यक्रमबीच राष्ट्रिय आविस्कार केन्द्रका संस्थापक महावीर पुनसँग राष्ट्रिय आविस्कार केन्द्र र कृषि उपकरण विषयमा छलफल भएको छ ।
कार्यक्रममा कृषि मेसिनरी उत्पादन लागत र बाह्य बजारीकरणका विषयमा छलफल भएको हो । कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष सुमनकुमार श्रेष्ठले राष्ट्रिय आविस्कार केन्द्रमा अनुसन्धान गरिरहेकाहरुलाई त्यहाँबाट प्राप्त उपलब्धिहरुलाई व्यवसायमा ढाल्न आग्रह गरे ।
उनले राष्ट्रिय आविस्कार केन्द्र सञ्चालन गरेकोमा महावीर पुनलाई धन्यवाद ज्ञापन गर्दै सकारात्मक कार्यका लागि सहयोग गर्न उद्योग वाणिज्य संघ–चितवन सधैँ तयार रहेको बताए । उनले कृषि क्षेत्रको सम्भावना भएको नेपालमा कृषिजन्य औजार तथा उत्पादनमा केन्द्रित उक्त केन्द्रको प्रवर्द्धन गर्नमा राज्यस्तरबाट सहयोग नपाउनु दुःखद् भएको बताउँदै निजी क्षेत्र सहकार्य गर्न तयार रहेको बताए । सो अवसरमा संघले महावीर पुनको जीवनीका १०० वटा पुस्तक खरिद गरी आविस्कार केन्द्रलाई सहयोग गरेको छ ।
कार्यक्रममा राष्ट्रिय आविस्कर केन्द्रका संस्थापक एवं विश्वप्रसिद्ध रोमन म्यागासेसे पुरस्कार विजेता महावीर पुनले आविस्कार केन्द्रको बारेमा जानकारी गराउँदै राज्यको झन्झटिलो नीति नियमका कारण धेरै श्रमशक्ति विदेश पलायन भएको बताए ।
उनले आविस्कार केन्द्रलाई जीवन्त राख्न आफ्नो जीवनी लेखेर बिक्री गरेको बताए । उनले उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष सुमनकुमार श्रेष्ठलाई किताब हस्तान्तरण गर्दै यो पुस्तक पढेर अबका पुस्ताहरुले देश विकासमा लाग्दै मातृभूमिलाई माया गर्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा उद्योग वाणिज्य संघ–चितवनका पूर्वअध्यक्ष देशीराम प्रधान, मित्रराज दवाडी, संघका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी सुवेदी, उपाध्यक्षद्वय राजेन्द्र ओली, अशोक अधिकारी, संघका कार्यसमिति, वस्तुगत संघका अध्यक्ष एवं पदाधिकारी, संघका पूर्वकार्यसमिति लगायतको उपस्थिति रहेको संघका कार्यक्रम अधिकृत गणेश सुवदीले जानकारी गराए ।
उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष सुमनकुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रम संघका कार्यकारी निर्देशक निलबहादुर केसीले सञ्चालन गरेका थिए ।

