चितवन। नेपाली काँग्रेस राप्ती नगर समितिको सभापतिमा युवा नेता देवेन्द्र लामाले उम्मेदवारी दिने घोषणा गरेका छन् । नगर समितिको निर्वाचन आउन तीन दिन बाँकी रहेको अवस्थामा लामाले नगर सभापति पदका लागि उम्मेदवारी घोषणा गरेका हुन् । राप्ती नगरपालिका–३ झुरझुरेमा आज (बिहीबार) पत्रकार सम्मेलनको आयोजना गरी लामाले आगामी कार्यकालका लागि सभापतिमा उम्मेदवारी घोषणा गरे । नगर समितिलाई क्रियाशील बनाउँदै आगामी स्थानीय तहको निर्वाचन जिताउने लक्ष्यका साथ आफूले उम्मेदवारी दिन लागेको राप्ती–९ का वडाध्यक्ष समेत रहेका लामाले बताए । ‘वर्तमान समितिका कारण पार्टी, संगठन चलायमान हुन सकेन’ लामाले भने, ‘निष्कृय समितिलाई क्रियाशील बनाउँदै स्थानीय तहको चुनावमा पार्टीलाई जिताउने लक्ष्य हो ।’
राप्तीमा हाल नारायण उप्रेती नगर सभापति छन् । उनी दुई पटक लगातार सभापति भैसकेका छन् । ‘दुई पटक सभापति भएर पद मात्र ओगट्ने काम भयो’ लामाले थपे, ‘पार्टीलाई चलायमान बनाएर एक ढिक्का वनाउने प्रण गर्छु ।’ नगरमा आफूहरु अहिले प्रतिपक्षमा रहेको उल्लेख गर्दै वर्तमान पदाधिकारीले जनताको आकांक्षा अनुसार विकास निर्माणको काम गर्न नसकेको उनले बताए ।
लामा राप्तीमा लोकप्रिय छवि बनाएका नेताका रुपमा परिचित छन् । स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसले राप्ती वडा नम्बर ९ र १२ मा मात्र जितेको थियो । यही भदौ २७ गते काँग्रेसको नगर समितिको निर्वाचन हुँदैछ । जसमा आफ्नो पक्षमा १५० भन्दा बढी मत ल्याउने सभापति पदमा उम्मेदवारी घोषणा गरेका लामाले दावी गरे ।
निर्वाचनमा करिब २३० मत खस्ने अनुमान छ । वडा सभापति र क्षेत्रीय प्रतिनिधिले मतदानमा सहभागिता जनाउनेछन् । हालै सकिएको वडा अधिवेशनमा आफ्नो पक्षमा ८ वटा वडामा सभापति जितेको लामाले बताए । पत्रकार सम्मेलनमा उनका पक्षका ७ जना वडा सभापति उपस्थित थिए । नगर समितिको सभापतिमा वर्तमान सभापति नारायण प्रसाद उप्रेतीको पनि चर्चा छ । तर, उनले आधिकारिक रुपमा धारणा भने सार्वजनिक गरिसकेका छैनन् ।

