चितवन । भरतपुर महानगरपालिका–१ रामनगरमा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अगाडि चेकिङका लागि रोकिराखेको बसमा माइक्रो बस ठोक्किएको छ । माइक्रोमा सवार ८ जना घाइते भएका छन् । जसमध्ये चार जनाको अवस्था गम्भिर रहेको प्रहरीले जानकारी दिएको छ ।
आज बिहान ५ बजेको समयमा झापाबाट काठमाडौंतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ४८८८ नम्बरको यात्रु बसको रामनगरमा चेकिङका क्रममा राेकिएको उक्त बस पछाडि काठमाडौँ जाँदै गरेको ग २ ख २२५ नम्बरको माइक्रो बस अनियन्त्रित भई ठक्कर खाएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता श्रीराम भण्डारीले जानकारी दिए ।
घाइते हुनेहरुमा भरतपुर–११ बस्ने बर्ष ४४ की मिना सापकोटा (टाउकोमा गम्भिर चोट), भरतपुर–५ बस्ने बर्ष ४० को केशर साह (टाउकोमा गम्भिर चोट), भरतपुर–२१ बस्ने बर्ष ४४ को मेकना तामाङ (सामान्य), भरतपुर–१४ बस्ने बर्ष ५३ को हरिराम ढकाल (सामान्य), ५१ वर्षीय धनुमाँया ढकाल (टाउकोमा गम्भिर चोट), भरतपुर–२ बस्ने बर्ष ३० को काशी उपरकोटी (टाउकोमा गम्भिर चोट), भरतपुर–२० बस्ने बर्ष ४७ को तुल बहादुर घले (सामान्य) र गोर्खा सिरान्चोक गाउँपालिका–१ बस्ने बर्ष २६ की प्रिती रम्तेल (मध्यम घाइते) रहेका छन् ।
घाइते भएका माइक्रोमा सवार यात्रुहरुको चितवन मेडिकल कलेजमा उपचार भइरहेको उनले बताए । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता श्रीराम भण्डारीका अनुसार माइक्रो र माइक्रो चालक प्रहरीको नियन्त्रणमा छन् ।