चितवन । चितवन ११ फुटबल क्लबको आयोजनामा प्रथम भरतपुर च्याम्पियनसिप २०८० हुने भएको छ । भरतपुर भ्रमण वर्ष २०२४ लाई लक्षित गर्दै प्रतियोगिता हुन लागेको हो । फागुन २५ गते बाट सुरु हुने प्रतियोगिता चैत १० गतेसम्म चल्ने क्लबका अध्यक्ष सुशील कार्कीले जानकारी दिए ।
प्रतियोगितामा १२ टोली सहभागी हुने कार्कीले बताए । चितवनका केही तथा विभागीय र मफोसलका उत्कृष्ट क्लबहरु प्रतियोगितामा सहभागी हुने कार्कीले जानकारी दिए । उनका अनुसार सहभागी हुने क्लबहरुको नाम केही दिनमा सार्वजनिक गरिनेछ ।
प्रतियोगिताका खेलहरु नेपाल प्रहरी शिक्षालय (तालिमकेन्द्र) को मैदानमा हुनेछ । प्रतियोगिताको विजेताले तीन लाख तीन हजार रुपैयाँ तथा उपविजेताले एक लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । विधागत उत्कृष्ट खेलाडीहरुलाई पनि पुरस्कारको व्यवस्था गरिएको छ ।
प्रतियोगिताको प्राविधिकलगायतका तयारी तीव्र पारिएको छ । फागुन १८ देखि सुरु हुने भरतपुर भ्रमण वर्ष २०२४ को प्रवर्द्धन र प्रचारका लागि प्रतियोगिता आयोजना गरिएको अध्यक्ष कार्कीको भनाइ छ ।
खेलको माध्यमबाट भ्रमण वर्ष र भरतपुरका पर्यटकीय क्षेत्रको प्रचार गर्न यस प्रतियोगिताले भूमिका खेल्ने उनको विश्वास छ । यसले भरतपुर भ्रमण वर्ष सफल बनाउन पनि मद्त मिल्ने उनको भनाइ छ । फागुन १८ गते नारायणगढस्थित नारायणी नदी किनारमा ठूलो संख्या मा स्थानीय र अतिथिको उपस्थितिमा भ्रमण वर्ष घोषणा गरिँदैछ ।