काठमाडौं । बागमती प्रदेशमा थप मन्त्रिपरिषद् विस्तार भएको छ । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बुधबार (आज) ६ मन्त्रीसहित ४ राज्यमन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद्लाई पूर्णता दिएकी हुन् ।
नवनियुक्त मन्त्रीहरूमा अजय क्रान्ति शाक्य (आन्तरिक मामिला तथा कानुन मन्त्रालय), रचना खड्का (आर्थिक मामिला तथा योजना मन्त्रालय), विजय सुवेदी (सामाजिक विकास मन्त्रालय), प्रदीपकुमार कटुवाल (स्वास्थ्य), शान्तिप्रसाद पौडेल (उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय), चन्द्र लामा (भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय) छन् ।
यस्तै नवनियुक्त राज्यमन्त्री हरुमा जुनेलीमाया श्रेष्ठ (स्वास्थ्य मन्त्रालय), जीवन खड्का (भौतिक पूर्वाधार तथा विकास मन्त्रालय), सरस्वती वाटी (उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय) र बद्री मैनाली (भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय) छन् ।
मुख्यमन्त्री शाक्य नेतृत्वको प्रदेश सरकार एमाले विभाजनसँगै अल्पतमा परेको छ । यसपछि उनले माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) मा नगएका सांसदलाई मन्त्री बनाएकी हुन् ।
बागमतीमा अहिले एमालेका ४३ सांसद छन् । पार्टी विभाजनपछि नेपाल नेतृत्वको पक्षमा १३ सांसदले सनाखत गरेका छन् । बागमतीमा यसअघि एमाले एक्लैको बहुमत रहेको थियो । प्रदेश सभामा बहुमतका लागि मुख्यमन्त्री शाक्यलाई ५५ सांसद आवश्यक हुन्छ । १३ सांसदले एमाले छोडेसँगै प्रदेश सभामा विपक्षी गठबन्धनको पक्षमा बहुमत पुगेको हो ।