चितवन। होटल व्यवसायी सङ्घ चितवनको आयोजनामा यही पुस १४ गतेदेखि १८ गतेसम्म ‘रैथाने फुड फेस्टिबल–२०८०’ हुने भएको छ । विभिन्न प्रकारका खानाका परिकारको संरक्षण, प्रवर्द्धन र सम्वर्द्धनका लागि फेस्टिबल आयोजना गर्न लागिएको हो ।
सङ्घका अध्यक्ष लेखनाथ भट्टले फेस्टिबलको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिनुभयो । जिल्लाको कृषि, शिक्षा, स्वास्थ्य, पर्यटनलगायत समग्र आर्थिक, सामाजिक र सांस्कृतिक विकासका साथसाथै पर्यटन तथा होटल व्यवसायको प्रवर्द्धनमा टेवा पुर्याउने उद्देश्यले फेस्टिबल आयोजना गरिएको उहाँले बताउनुभयो ।
कोभिडका कारण समस्यामा परेका होटल तथा पर्यटन क्षेत्रमा आर्थिक चलायमान बनाउनु र रैथाने खानाको प्रचारप्रसार गर्नु फेस्टिबलको मुख्य उद्देश्य रहेको आयोजकको भनाइ थियो ।
भरतपुर महानगरपालिका–२ मा रहेको क्याम्पाचौरमा मेला आयोजना गर्न लागिएको हो । मेलामा ३९ वटा स्टल रहने छन् । स्टलमा स्थानीय रैथाने खानेकुराअन्तर्गत थारु, नेवारी, शुद्ध नेपाली तथा थकाली खाना, साहाकारी भोजनालय, चितवनको तास, स्पेशल लोकल कुखुराको सेकुवा, लोकल हाँस, माछाका परिकार पाइने भट्टले जानकारी दिनुभयो । उहाँका अनुसार फेस्टिबलमा स्थानीय तथा राष्ट्रिय कलाकारले प्रस्तुति देखाउने छन् ।
फुडफेस्टिबलमा ५० हजार दर्शकले अवलोकन गर्ने अपेक्षा लिइएको छ । सो क्रममा रू पाँच करोडको कारोबार हुने अनुमान गरिएको छ । रासस