एजेन्सी । ओमानमा अभ्यास गरिरहेको नेपालको राष्ट्रिय क्रिकेट टोलीले आज पपुवा न्युगिनीसँग मैत्रिपूर्ण खेल खेल्दैछ ।आइसिसी विश्वकप क्रिकेट लिग डिभिजन– २ अन्तर्गत त्रिकोणीय शृखलाको तयारीका लागि ओमान पुगेको नेपाली टोलीले आज पिएनजीसँग एक दिवसिय खेल खेल्न लागेको हो ।
दोस्रो अभ्यास खेल शुक्रवार हुनेछ । ओमानस्थित अल अमेरात क्रिकेट मैदानमा नेपाली समयअनुसार बिहान सवा ११ बजे सुरु हुने खेलमा दुवै टोली जितको खोजीमा हुनेछन् ।
ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको १९ सदस्यीय नेपाली टोलीमा यसपटक अनुभवी खेलाडी तथा पूर्व कप्तान पारस खड्का छैनन् ।पारसले गत महिना अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएका हुन् । नेपाली टोलीमा पहिलो पटक युवा खेलाडी गुल्शन झा समावेश छन् ।
नेपाल पुलिस क्लबबाट घरेलु प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका तिव्र गतिका बलर गुल्शन मुख्य प्रशिक्षक डेभ वाटमोरको नजरमा परेका थिए ।नेपालले पिएनजीविरुद्धका दुई अभ्यास खेलपछि ओमान र अमेरिकासँग त्रिकोणात्मक शृंखला खेल्ने छ । शृंखला सेप्टेम्बर १३ बाट २० सम्म चल्ने छ ।नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकबाट राजीनामा दिइसकेका डेभ वाटमोरको नेतृत्वमा नेपालको यो अन्तिम शृंखला हुनेछ ।