चितवन। मलखाद व्यवसायी संघ नेपालको सातौं केन्द्रीय साधारण सभा चितवनको सौराहामा आइतबार गरिएको छ । साधारण सभाको कृषि मन्त्री डा. बेदुराम भूषालले एक औपचारिक कार्यक्रमका बीच उद्घाटन गरेका छन् ।
सो अबसरमा बोल्दै मन्त्री भूषालले रासायनिक मलको विकल्प खोज्नु पर्ने अबस्था आएको बताएका छन् । रासायनिक मलले माटो विगारेको भन्दै उनले किसानहरुलाई जैविक मल प्रयोगको लागि प्रेरित गर्ने बेला आएको बताए । उनले रासायनिक मलमा अनुदान दिएजस्तै जैविक मलको प्रर्वधनको लागि सरकारले कार्यक्रम ल्याउने बताए ।
मन्त्री भूषालले रासायनिक मलको कारखाना सञ्चालन गर्ने विषयमा सरकार अहिले सकरात्मक नरहेको बताए । कारखाना सञ्चालन गरेर मात्र भएन उनले भने कच्चा पदार्थ बाहिरबाटै ल्याउनु पर्छ,यसो गर्दा लागत मुल्य बृद्धि भयो भने यहाँ उत्पादन गरेर अर्थ छैन् ।
रासायनिक मलको अभाव कम गर्न जैविक मलको प्रयोग एकमात्र विकल्प भएको मन्त्री भूषालको भनाई छ । मन्त्री भूषालले नेपालमा प्रयाप्तमात्रामा मल आयत भएको भएपनि वितरण प्रणाली प्रभावकारी नहुँदा बास्तविक किसानले मल नपाएको बताए ।
सहकारी र एग्रेभेटले वितरणलाई प्रभावित पारेका कारण मलको अभाव देखिएको बताए । स्थानीय सरकारले अनुगमन नगरेका कारण समस्या आएको उनको भनाई छ । साधारण सभामा संघका महासचिव इश्वरी प्रसाद अर्यालले बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै मल वितरणलाई सहज बनाउन मन्त्री भूषाललाई आग्रह गरेका छन् ।
कोटा निर्धारण गरेर मल वितरण गर्दा व्यवसायी मारमा परेको भन्दै उनले सहकारी र एग्रोभेटहरुलाई समान रुपमा मल प्रदान गर्न आग्रह गरे ।
संघका अध्यक्ष चन्द्रकान्त डल्लाकोटीको अध्यक्षतामा भएको कार्यक्रममा कृषि सामाग्री कम्पनी भरतपुरका प्रबन्धक विष्णुप्रसाद पोखरेल, रत्ननगर नगरपालिका कृषि अधिकृत प्रविन लामा, चितवनका युवा उद्यमी तथा व्यवसायी रविन अधिकारी,विषादी व्यवसायी संघका केन्द्रीय सचिव विशाल पौडेल, मलखाद व्यवसायी संघकी उपाध्यक्ष बसन्ता श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रममा संघका बरिष्ठ उपाध्यक्ष गौरिश्वर कँडेलले स्वागत मन्तव्य राखेका थिए ।