चितवन। भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ चौधरीले पेशालाई मर्यादित बनाएर काम गर्न लेखापढी, कानुन व्यवसायीहरुलाई आग्रह गर्नुभएको छ । नेपाल खेलापढी कानुन व्यवसायी एशोसिएसनको सातौँ राष्ट्रिय परिषद् बैठकको आज यहाँ उद्घाटन गर्दै उहाँले मालपोत तथा नापी कार्यालयमा फर्जी र नक्कली काम हुन नदिन व्यवसायीको महत्वपूर्ण भूमिका रहने बताउनुभयो ।
“तपाईहरुले मालपोत, नापी र सेवाग्राहीको पुलका रुपमा काम गर्नुभएको छ । यसलाई अझै व्यवस्थित र मर्यादित बनाएर अघि बढ्नुस्”, उहाँले भन्नुभयो । सेवाग्राही र कर्मचारीसँगको नियमित छलफल र अन्तक्र्रियाबाट व्यवसायका साथै सरकारी कामलाई व्यवस्थित गर्न सकिने मन्त्री चौधरीले बताउनुभयो ।
उहाँले भन्नुभयो, “तपाईहरुलाई सेवाग्राहीबाट दुःख दिने र लाभ लिने गरेको आरोप लाग्ने गरेको छ । यसबाट मुक्त हुनुपर्छ ।” मालपोत र नापी कार्यालको सेवा अनलाइनबाट दिन सुरु गरिएको बताउँदै मन्त्री चौधरीले यसलाई अझै व्यवस्थित गर्न लेखापढी कानुन व्यवसायीको महत्वपूर्ण भूमिका रहने बताउनुभयो ।
मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीले लेखापढी कानुन व्यवसायीले सेवाग्राहीलाई सहजीकरण गर्नुपर्नेमा जोड दिनुभयो । मालपोत र नापीको कामलाई थप व्यवस्थित गर्न मन्त्रालय लागिपरेको उहाँको भनाइ थियो ।
कार्यक्रममा नेपाल बार एशोसिएसनका महासचिव अजिता खनाल, बार पूर्वमहासचिव लीलामणि पौडेल, एशोसिएसनका वरिष्ठ उपाध्यक्ष गोविन्दप्रसाद पोख्रेल, न्यायिक समितिका संयोजक कृष्णप्रसाद ढुङ्गानालगायतले लेखापढ व्यवसायमा देखिएका कानुनी समस्या तथा समाधानका लागि सरकारले खेल्नुपर्ने भूमिकाका बारेमा धारणा राख्नुभएको थियो ।
एशोसिएसनका केन्द्रीय अध्यक्ष सीताराम दाहालको अध्यक्षतामा सुरु भएको बैठक आइतबारसम्म सञ्चालन हुनेछ । बैठकमा देशभरबाट एक हजार तीन सयको सहभागिता रहेको छ । बैठकले विधान संशोधनलगायतका विषयमा छलफल गर्नेछ । बैठकले चितवन घोषणापत्र जारी गर्ने जनाइएको छ ।