चितवन । भरतपुरको अंकुरम एकेडेमीबाट कक्षा १२ उत्तिर्ण गरेका रोचक अधिकारी काठमाडौँ विश्वविद्यालयले लिने स्कुल अफ इन्जिनियरिङ (एसओई)को प्रवेश परीक्षामा नेपाल प्रथम भएका छन् ।
देशभरबाट पाँच हजार भन्दा बढी विद्यार्थी सहभागी भएको परीक्षामा एक हजार ६३७ सीबीटी स्कोर ल्याएर नेपाल प्रथम भएका रोचकलाई अंकुरमले शुक्रवार सम्मान गरेको हो ।
गोरखा स्थायी घरभई भरतपुर बस्दै आएका रोचकले त्रिभुवन विश्वविद्यालयको इन्जिनियरिङ अध्ययन संस्थान (आईओई)ले लिने प्रवेश परीक्षा पनि दिने तयारी गरेका छन् । एसओईको प्रवेश परीक्षामा प्रथम भएर रोचकले अंकुरमको पनि नाम राखेको अंकुरमका प्रिन्सिपल सुमन पौडेलले बताए ।
प्रवेश परीक्षा दिएपछि परीक्षा राम्रो भएको सोचे पनि नेपाल प्रथम नै हुन्छु भन्ने कुरा नसोचेको रोचकले बतााए । आईओईको पनि प्रवेश परीक्षा दिएपछि कुन कलेजमा इन्जिनियरिङ पढ्ने भनेर तय गर्ने उनले बताए ।
कलेजले विद्यार्थीको गुणस्तरमा विश्वास गरेकाले रोचक जस्तो विद्यार्थी उत्पादन गरेको कलेजका कार्यक्रम निर्देशक डा आरएन धितालले बताए । अंकुरमले एसईईमा धेरै जीपीए ल्याउने विद्यार्थी नखोज्ने बरु मध्यम जीपीए ल्याएका विद्यार्थीलाई सृजनशील र क्षमतावान बनाउने धितालले बताए ।