चितवन। हरितालिका तीजको अवसरमा चितवनको पहिलो रेडियो सिनर्जी एफएमको आयोजनामा तीजको लहर २०८० सम्पन्न भएको छ । एफएम परिसरमा शनिबार सम्पन्न तीजको लहरमा गणेश पार्क दिदी बहिनी समूह भरतपुर ३ प्रथम भएको छ ।
प्रथम हुन सफल समूहले नगद २५ हजार रुपैयाँसहित अन्य उपहार प्राप्त गरेको छ । यस्तै रामजानकी बालिका आश्रम गुरुकुलम भरतपुर १ देवघाट दोस्रो भएको छ । दोस्रो भएको रामजानकी बालिका आश्रमले नगद २० हजार रुपैयाँ प्राप्त गरेको छ ।
प्रतियोगितामा आनन्द दिदी बहिनी भजन समूह तेस्रो तथा जनशितल आमा समूह र जय श्री सामूदायिक वन उपभोक्ता समूहले सान्त्वना स्थान हासिल गरेका छन् । तेस्रो हुने समूहले १५ हजार तथा सान्त्वना दुई समूहले समान ५–५ हजार रुपैयाँ प्राप्त गरेको कार्यक्रम संयोजक रबिन सुवेदीले जानकारी दिए ।
उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि चितवन राष्ट्रिय निकुन्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष प्रकाश ढुंगाना, सोफा हब चितवनका संचालक मोहनप्रसाद दनै लगायतले पुरस्कार वितरण गरे । प्रतियोगितामा १५ समूह सहभागी थिए । प्रतियोगितामा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका संस्थाक सदस्य तथा पूर्व उपाध्यक्ष मधुराम दुवाडी र सञ्चारिका समूहकी अध्यक्ष अजिता अधिकारी निर्णायकको भूमिकामा थिए ।
वन, वन्यजन्तु तथा पर्यावरणको संरक्षण बारे सचेतना जगाउन कार्यक्रम आयोजना गरिएको संयोजक सुवेदीले बताए । यसले वन, वन्यजन्तु तथा पर्यावरण संरक्षणमा महिलाको भूमिका बारे सचेत गराउन मद्धत मिल्ने उनले विश्वास व्यक्त गरे ।
यसैबीच सोही कार्यक्रमका बीच एफएमले वन, वन्यजन्तु तथा पर्यावरण संरक्षणमा योगदान पुराएको भन्दै वनदेवी बरण्डाभार मध्यवर्ती सामुदायिक वनकी वन हेरालु जमुना पौडेललाई सम्मान गरेको छ । एफएमले पौडेललाई नगद ५ हजारसहित सिनर्जी आइकनबाट सम्मान गरेको हो । भरतपुर ८ निवासी पौडेल बिगत १३ वर्षदेखि वन हेरालुको रुपमा कार्यक्रम छिन् । प्रतियोगितामा चितवन राष्ट्रिय निकुन्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति प्रवर्द्धक संस्थाको रुपमा रहेको थियो ।