चितवन । उद्योग वाणिज्य संघ–चितवन र कम्प्युटर एसोसिएसन नेपाल महासंघ चितवनको संयुक्त आयोजना एवं भरतपुर महानगरपालिकाको प्रवर्द्धनमा चितवनमा पहिलोपटक भदौ २१ गतेदेखि शनिबारसम्म सञ्चालित सफ्टटेक चितवन–२०८० मेला सम्पन्न भएको छ ।
कार्यक्रममा बोल्दै उद्योग वाणिज्य संघ–चितवनका वरिष्ठ उपाध्यक्ष सुमनकुमार श्रेष्ठले सफ्टटेक चितवन–२०८० ले यस क्षेत्रमा भएको सूचना प्रविधिमा क्षेत्रमा भएको विकासका साथै यहाँ बनेका सफ्टवेयरहरूका जानकारी गराउन यस मेलाले सहयोग गरेको बताए । उनले आगामी दिनहरूमा पनि सूचना प्रविधि विकासका लागि विभिन्न कार्यक्रमहरूको आयोजना गरिने र चितवन जिल्लालाई सूचना प्रविधिको केन्द्र बनाउन उद्योग वाणिज्य संघ–चितवन निरन्तर लाग्ने बताए ।
कम्प्युटर एसोसिएसन नेपाल महासंघका केन्द्रीय सदस्य भानु शर्माले काठमाडौँमा मात्रै गरिने सफ्टटेकसम्बन्धी मेला यस पटक काठमाडौँ बाहिर ल्याएर गर्न सक्नु चितवन जिल्लाको लागि एक अवसर भएको बताए । उनले यस क्षेत्रका सूचना प्रविधिसम्बन्धी काम गर्ने व्यवसायीहरूलाई प्रवद्र्धन गर्न सकियो भने चितवन सूचना प्रविधिको केन्द्र बन्न सक्ने बताए ।
कार्यक्रममा कम्प्युटर एसोसिएसन नेपाल महासंघ चितवनका निवर्तमान अध्यक्ष एवं उद्योग वाणिज्य संघ–चितवनका कार्यसमिति सदस्य सन्तोषजनक भूषालले तीन दिनसम्म सञ्चालन भएको मेलामा २० ओटा स्टल रहेको र करिब चार हजार दर्शकले सफ्टटेक चितवन–२०८० अवलोकन गरेको जानकारी गराए । कम्प्युटर एसोसिएसन चितवनका अध्यक्ष टेकलाल भूषालले प्रवर्द्धक संस्था भरतपुर महानगरपालिका, सहयोगी संस्था, स्पोन्सर संस्था र प्रदर्शकहरूलाई धन्यवाद ज्ञापन गरेका थिए ।
समापन कार्यक्रममा उद्योग वाणिज्य संघ–चितवनका उपाध्यक्षद्वय चिरञ्जीवी सुवेदी, राजेन्द्र ओली, कार्यसमिति सदस्य दिपा शाही, रुद्र सुवेदी, कम्प्युटर एसोसिएसन नेपाल महासंघ चितवनका पूर्वअध्यक्ष, पदाधिकारी र कार्यसमिति, विभिन्न वस्तुगत संघका अध्यक्ष एवं प्रतिनिधि, प्रदर्शक गरी ७० जनाको उपस्थिति रहेको उद्योग वाणिज्य संघ–चितवनका कार्यक्रम अधिकृत गणेश सुवेदीले जानकारी दिए ।
उद्योग वाणिज्य संघ–चितवनका वरिष्ठ उपाध्यक्ष सुमनकुमार श्रेष्ठको अध्यक्षतामा भएको समापन कार्यक्रम कम्प्युटर एसोसिएसन चितवनका सचिव ई. कृष्ण पोखरेलले सञ्चालन गरेका थिए ।