काठमाडौं । अथक मेहनत, धेरैको सकारात्मक सद्भाव र सहयोगले माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले आइतवारदेखि पूर्ण रूपमा व्यावसायिक विद्युत् उत्पादन शुरु गरेको छ ।
कुल ४५६ मेगावाट क्षमताको आयोजना पूर्ण क्षमताका साथ सञ्चालनमा आएको हो । प्राकृतिक विपद्, सीमा नाकामा भारतले गरेको अवरोध, गोरखा भूकम्प, कोरोना कहरलगायत सबै समस्यालाई छिचोलेर आयोजना सफल भएको हो ।
स्वदेशी लगानीमा निर्माण भएको हालसम्मकै ठूलो आयोजनाले सफलताका साथ व्यावसायिक उत्पादन थालेको माथिल्लो तामाकोशी जलविद्युत् कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विज्ञानप्रसाद श्रेष्ठले जानकारी दिए ।
दोलखाको बिगु गाँउपालिका–१ मा रहेको आयोजनाको व्यावसायिक उत्पादन शुरु गरिएको दिन बौद्ध परम्पराअनुसार स्थानीय लामामार्फत स्वस्ती शान्ति गर्दै आयोजनाको सफलताको कामना गरियो । प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले सार्वजनिक गरेको भिडियोमा आयोजनाको पूर्ण सफलताको कामना गर्दै लामा गुरुले आयोजनाले देशकै लागि उज्यालो छर्ने काम गरोस् भन्ने कामना गरेका छन् ।
सो आयोजनाको गत असार २१ गते उद्घाटन गरिएको थियो । आयोजनाबाट उत्पादित बिजुली ४७ किलोमिटर लामो २२० केभी डबल सर्किट प्रसारण लाइन हुँदै रामेछापको मन्थली नगरपालिका १३ स्थित साँखेमा नवनिर्मित २२० र १३२ केभी क्षमताको न्यून खिम्ती सवस्टेशनमा जोडिएको छ । सो सवस्टेशन हुँदै बिजुली ढलकेवरस्थित नेपाल विद्युत् प्राधिकरणको ४०० केभी क्षमताको सवस्टेशनमा जोडिएको छ ।
विसं २०६८ भदो १७ गते तत्कालीन प्रधानमन्त्री झलनाथ खनालले शिलान्याश गरेका थिए । आयोजना निर्माण सकिन भने ११ वर्ष लाग्यो । मुख्य सुरुङको संरचना निर्माणको डिजाइनमा भएको परिवर्तन, २०७२ सालको गोरखा भूकम्प, सीमा नाकामा भारतले गरेको अवरोध, लामोसाँघु चरीकोट सडक स्तरोन्नतीका कारण निर्माण सामग्री ढुवानीमा भएको अवरोध, हाइड्रोमेकानिकल कार्यका ठेकेदारको कमजोर कार्यसम्पादन तथा कोरोनाका कारण आयोजना निर्माणमा ढिलाइ हुन पुग्यो ।