धरान । विश्वव्यापी कोरोना महामारीले आर्थिक क्षेत्र धरासायी भइरहेको बेला धरान ८ तीनकुने स्थित आद्यौगिक क्षेत्रभित्र भने करोडौं लगानीको उद्योग खुलेको छ ।
२० जना व्यवसायीहरु मिलेर पशुपंक्षीको दाना (आहार) उत्पादन गर्ने उद्योग सञ्चालनमा आएको हो । लगानीकर्ताको समूहले १७ करोड लगानीमा ब्राइट फिड प्रालि खोलेका हुन् ।
प्रालिको शनिवार एक समारोहबीच प्रदेश नं १ का मुख्यमन्त्री भीम आचार्यले उद्घाटन गरे । उद्योगले कुखुरा, बंगुर लगायतलाई आवश्यक पर्ने खाद्य पदार्थ उत्पादन गर्ने जानकारी दिइएको छ । मुख्यमन्त्री आचार्यले उत्पादन वृद्धि गर्ने, रोजगारी सृर्जना गर्ने क्षेत्रमा उद्योगहरुको महत्वपूर्ण भुमिका रहने बताए ।
उनले संविधान र लोकतन्त्रको स्थायीयत्व गर्ने काम सँगसँगै उत्पादन वृद्धि, पुर्वाधारको विकास, कृषिको विकास, रोजगारी प्रवर्द्धन सरकारको प्राथमिकता रहेको बताए ।
पशुपंक्षीको आहार विदेश र अन्य प्रदेशबाट आइरहेको सन्दर्भमा धरानमा उद्योग खुलेर आत्मनिर्भर हुने गरि पहल भएको भन्दै मुख्यमन्त्री आचार्यले प्रशंसा गरे । उत्पादन वृद्धि, उद्यम विकास, देशलाई आत्मनिर्भर बनाउन, आर्थिक वृद्धि र व्यापार घाटा बनाउनको लागि यस्तो उद्योग आवश्यक भएको पनि उनले बताए ।
साधन स्रोत जुटाउन समस्या नहुने तर योजना र व्यवस्थापनको मात्र समस्या भएको आचार्यको भनाइ थियो । उनले उद्यमशिल विकासको लागि सरकार र जनता सबै पक्षले स्वागत र सहयोग गर्ने बताए ।
प्रालिका अध्यक्ष एवम् प्रबन्ध निर्देशक गोपाल श्रेष्ठले किसानहरुलाई असाध्यै समस्या भइरहेको कारण आफूहरुले उद्योग खोलेको बताए । उनका अनुसार लामो समयदेखि पशुपंक्षी पालन गर्ने किसान, दाना वितरक, पशु पोषणविद तथा पशु चिकित्सकहरुलगायत २० जनाको समूह मिलेर उद्योग खुलेको हो ।
यहाँबाट कुखुरा, वंगुर, गाई, भैँसी, माछालगायत पशुपंक्षीको गुणस्तरीय तथा सन्तुलित आहार उत्पादन गर्ने लक्ष्य रहेको उनले बताए । उद्योगबाट प्रतिदिन २०० मेट्रिक टन दाना उत्पादन गर्ने क्षमता छ ।
बजार विस्तार गर्न उद्योगले थप २० करोड लगानी गर्ने योजना छ । प्रालिमा ५० जनाले प्रत्यक्ष, २०० जनाले अप्रत्यक्ष रोजगारी पाउने श्रेष्ठले बताए । साथै, देशभरका ६ हजार किसानहरु लाभान्वित हुने उनले बताए ।