ढाका । वंगलादेशका एक सांसदले बेरोगारी समस्या समाधानबारे दिएको एउटा बिबादस्पद अभिव्यक्तिको मन्त्री र अन्य सांसदले खिल्ली उडाएका छन् । शनिबारको संसद बैठकमा सांसद रिजउल करिमले बेरोजगारी समस्या अन्त्यका लागि काम गर्ने जोडिबीचको विवाहमा रोक लगाइनुपर्ने बताएका थिए ।
‘जागिरे पुरुषले विवाहका लागि आफू जस्तै काम गर्ने महिला खोज्छन् । त्यस्तै, जागिर खाने महिलाले पनि आफू जस्तै रोजगार पुरुष खोज्छिन् । यस्तो प्रवृत्ति रहिरहयो भने बेरोजगार समस्या समाधान गर्न सकिन्न । तसर्थ, दुबै जना जागिरे व्यक्तिले विवाह गर्न नपाउने कानून ल्याउन प्रस्ताब गर्छु,’ उनले भने । कार्यलयमा काम गर्ने जोडिका सन्तान प्रायः घरेलु कामदारबाट दुव्र्यबहार हुने गरेको उनको तर्क थियो ।
उनको प्रस्तावपछि संसदमा हाँसोको फोहोरा नै छुटेको थियो । कानून मन्त्री अनिसुल हुकले सांसदको प्रस्ताव ‘अभिव्यक्ति स्वतन्त्रता’ को परिणाम बताएका छन् । ‘यो प्रस्तावलाई स्वीकारे भने म संसद भवनको दुई खुड्किला पनि चढ्न सक्दिन,’ मन्त्रीले भने । यस्तो प्रस्तावमा समर्थन जनाएर आफ्नो करिअरलाई जोखिममा नपार्ने उनको भनाई थियो ।
सन् २०१८ मा पहिलोपटक सांसद बनेका करिम गत वर्ष पनि आफ्नो अभिव्यक्तिका कारण विवादमा तानिएका थिए । महिला अभियानका कारण बलात्कारका घटनामा बृद्धि भएको भन्ने उनको अभिव्यक्ति विवादित बनेको थियो । एजेन्सी