चितवन । पछिल्ला बर्षहरुमा काठमाडौंका तारे होटलहरुले चितवनमा लगानी विस्तार गर्न थालेका छन ।
पर्यटन व्यवसायमा विविधिकरण गर्न र पर्यटकलाई पर्यापर्यटन जोड्न ती होटलहरुले चितवनमा लगानी गर्न थालेका हुन् । चितवनको प्रमुख पर्यटकीय गन्तव्य मध्ये पर्ने पश्चिम चितवनको पटिहानी, जगतपुर , ध्रुव , शुक्रनगर जस्ता स्थानमा होटल तथा रिसोर्ट निर्माण गर्ने क्रम बढेको छ । काठमाडौंको पांँचतारे होटल डेल अन्नपुर्ण, र्याडिसन होटल , होटल द्धारिकाज, धुलिखेलको हिमालय होराइजन जस्ता होटल तथा रिसोर्टले जग्गा खरीद गरी आफ्नो व्यवसाय विस्तार गर्न थालेका हुन् । उनीहरुले यहांँ झण्डै पाँच विघा देखि माथि जग्गा खरीद गरी पर्यटन व्यवसायमा लगानी गर्न थालेका छन ।
होटल डेल अन्नपूर्णले जगतपुर लज स्थापना गरी चार बर्षदेखि सेवा शुरु गरिसकेको छ । जगतपुर लजका प्रबन्धक अनिल श्रेष्ठ चार बर्ष अघिनै पूर्वाधार सहितको जग्गा खरीद गरी होटलले सेवा विस्तार गर्न लागेको बताउंँछन । ‘हामीले थप संरचना सहित होटल विस्तार गर्दै थियौं , श्रेष्ठले भने, कोरोनाका कारण हाल स्थगित गरेका हौं ।’ पर्यटनलाई विविधिकरण गर्न र पर्यटकलाई ई–को टुरिज्ममा जोड्ने उद्धेश्यले व्यवसाय विस्तार गर्न लागेको उनको भनाई छ । डेल होटल अन्नपूर्णको पोखरामा फिस टेल लज सञ्चालनमा ल्याएको जानकारी दिदै श्रेष्ठले त्रिकोणात्मक पर्यटन गन्तव्य जोड्न चितवनमा व्यवसाय विस्तार गरिएको बताए । ‘काठमाडौं –पोखरा– चितवनलाई पर्यटकीय गन्तव्यमा जोडेका छौं उनले भने, अब छिट्टैनै लुम्बिनिलाई धार्मिक पर्यटकीय गन्तव्यमा जोड्ने तयारीमा छौं ।’
पछिल्लो समय विदेशी तथा स्वदेशी पर्यटकले नयांँ गन्तव्य र पर्यटन क्षेत्रमा नयांँपन खोजेका कारण पर्यटकको चाहना र माग अनुसार तारे होटलहरुले आफ्नो व्यवसायलाई विस्तार गर्दै लगेका हुन् ।
चितवन राष्ट्रिय निकुञ्जको जंगल पर्यटन एवं पर्यापर्यटनमा पर्यटकहरु लोभिने गरेका कारण यसको सामिप्यमा यी होटलहरुको आकर्षण बढ्दै गएको हो । हिमालय होराइजनका किरण श्रेष्ठ पर्यटकको बसाई लम्ब्याउन र नेपालका विभिन्न पर्यटकीय गन्तव्यको प्रर्वद्धन गर्न पनि व्यवसायको विस्तार गर्नुपर्ने बताउंँछन । ‘अधिकांश पर्यटकहरु जल, जंगल र प्रकृतिसंँग रमाउने गरेको पायौं उनले भने, यसैअनुरुप धुलिखेलमा फरक प्रकारको आनन्द छ, चितवनमा फरक किसिमको अनुभूति पाउंँछन ।
पर्यटन व्यवसाय पनि विस्तारित व्यवसाय मध्ये पर्ने र व्यवसाय विस्तार जरुरी हुने भएकोले यसलाई केन्द्रीकृत गर्न नहुने उनको तर्क छ ।
काठमाडौका अधिकांश ठूला तथा तारे होटलहरुले केही बर्षदेखि चितवनमा जग्गा खरिद गरेर राखेपनि कोरोना कहरका बीच पूर्णरुपमा संरचना निर्माण गरेका छैनन । भरतपुर महानगरपालिका वडा नम्बर २२, २३, २४ , २५ नम्बर वडामा उनीहरुले जग्गा खरीद गरेर पर्ख र हेरको अबस्थामा रहेको बताउंँछन वडा नम्बर २२का अध्यक्ष विष्णुराज महत्तो । ‘पहिले सौराहा ठूला होटलहरुको लगानीको गन्तव्य थियो, महत्तोले भने, पछिल्लो समय उनीहरुको रोजाईमा पश्चिम चितवन बनेको छ ।’ पछिल्लो समय पर्यटकहरु शान्त , रमणीय र प्राकृतिक वातावरणमा बढी रमाउने भएकोले ठूला होटलहरुले लगानी गर्न थालेको उनले बताए ।
‘हामीकहांँ के छैन ! राप्ती नदी, राष्ट्रिय निकुञ्जको मुख्यालय, सामुदायिक वन , घरियाल प्रजनन केन्द्र सूर्योदय सूर्यास्त सबै प्रडक्ट छन’ महत्तोले भने । होटल तथा रिसोर्टलाई चाहिने सडक, बिजुली ,खानेपानी एवं पर्यटकको सूरक्षाको लागि पर्यटक प्रहरी लगायतको सेवा सुविधा भएकोले पनि यो ठाउंँ त्यस्ता होटलको लागि लगानीको आकर्षक गन्तव्य बनेको उनको भनाई छ ।
उनका अनुसार देशकै पहिलो नमुना पर्यटकीय गन्तव्य अम्ब्रेला स्ट्रिटको राष्ट्रिय तथा अन्र्तराष्ट्रिय स्तरमा चर्चा भएकोले पनि पर्यटन व्यवसायी पश्चिम चितवनमा लगानी गर्न उत्साहित भएका हुन्। यहांँ यस अघिनै पर्यटकीय स्तरीय होटल कसरा रिसोर्ट, जंगल भिल्ला, नारायणी सफारी जस्ता होटल सञ्चालित छन भने रोयल रिभरसाईड गार्डेन रिसोर्ट सञ्चालनको तयारीमा छ । हाल यस क्षेत्रमा ठूला तथा गुणस्तरीय पर्यटकीय होटल मात्र झण्डै दर्जनको संख्यामा पुग्न थालेका छन भने अन्य साना होटल तथा रेष्टुरेण्ट दुईदर्जनको हाराहारीमा छन ।