शनिबार अफगान महिलाहरूको अधिकारको सुनिश्चितताको माग गर्दै भएको प्रदर्शनमा तालिबान नियन्त्रित काबुलमा लाठीचार्ज गरिएको थियो । लाठीचार्जपछि कतिपय अधिकारकर्मीहरूको टाउकोमा चोट लागेको र अनुहारमा रगत बगिरहेको भिडियो विभिन्न स्वदेशी ताथा विदेशी अनलाइन सञ्चारमाध्यमले विशेष स्थान दिई छापेका छन् ।
महिला अधिकारकर्मीहरूको नेतृत्वमा शनिबार भएको विरोध प्रदर्शनका क्रममा कार्यकर्ता नरगिस सददतले आफूलाई तालिबान लडाकुले कुटपिट गरेको आरोप लगाइन् ।
टोलो न्युजका अनुसार तालिबान लडाकुले प्रदर्शनकारी राष्ट्रपतिको कार्यालयतर्फ अघि बढ्ने क्रममा लाठी तथा अश्रुग्यास प्रहार गरेका थिए ।
महिला कार्यकर्ता र प्रदर्शनकारीले राष्ट्रपति भवन (एआरजी)को गेटअगाडि विरोध प्रदर्शन गर्न चाहेको बताएका छन् । तर, अफगानिस्तानको इस्लामिक इमिरेट्सका सदस्यहरूले भने उनीहरूलाई विरोध गर्न नदिएको द खामा प्रेसले जनाएको छ ।
पत्रकार तथा अन्य व्यक्तिले सामाजिक सञ्जालमा सेयर गरेका भिडियो क्लिपका अनुसार तालिबानले प्रदशर्नकारी महिलालाई तितरवितर पार्न हवाई फायर तथा अश्रुग्यासको प्रयोग गरेका खामा प्रेसले जनाएको छ ।
शनिबारको विरोध तालिबानले कब्जा गरेदेखि अफगानिस्तानमा आयोजित चौथो महिला विरोध थियो । यसअघि, पश्चिमी हेरात प्रान्त र अफगानिस्तानको राजधानीमा विरोध प्रदर्शनहरू भएका थिए । रासस/एएनआई