काठमाडौँ । सरकारले पूर्वतयारी र श्रोतको व्यवस्थापन नभएको भन्दै अघिल्लो सरकारले शिलान्यास गरेका २ हजारभन्दा बढी सडक आयोजनाको नयाँ ठेक्का लगाउन रोक लगाएको छ ।
केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारले पूर्वतयारी नै नगरी ठूलो आर्थिक भार बढ्ने गरी सडक आयोजनाहरू अघि बढाएको अर्थ मन्त्रालयको निष्कर्ष छ ।
अर्थमन्त्री जनार्दन शर्माले २२ साउनमै यी आयोजनाहरुमा पुनःप्राथमिकिकरण गर्नुपर्ने भन्दै पूर्वतयारी नसकिएका आयोजनाहरू रोक्ने निर्णय गरेका थिए । अहिले यी आयोजना निर्माण कार्य अघि नबढाउने निर्णय गरिएको हो ।
यसैगरी १ सय ६५ वटै निर्वाचन क्षेत्रमा लागु भएको निर्वाचन क्षेत्र रणनीतिक सडक कार्यक्रमलाई पनि सरकारले रोकेको छ । तत्कालिन प्रधानमन्त्री ओलीले यो कार्यक्रम अन्तर्गत तीन वर्षभित्रमा एकैपटक १ सय ६५ वटा सडक बनाइसक्ने भन्दै बालुवाटारमा स्वीच थिचेर शिलान्यास गरेका थिए ।निर्वाचन क्षेत्र रणनीतिक सडक कार्यक्रम विस्तृत परियोजना प्रतिवेदन डिपिआर तयार नहुँदै शिलान्यास गरिएको थियो ।