चितवन। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवनको लागि राख्ने भनेको सिईओको प्रक्रिया चाँडै टुंगिने बताएका छन् । आज भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गर्दै लामिछानेले सिईओको लागि परेको आवेदनको सर्टलिष्ट तयार गर्ने काम भइरहेको बताए । विदेशबाट फर्किएका युवाले चितवन जिल्ला कार्यालय हेर्नेगरी लामिछानेले सिईओ मागेका थिए ।
‘आवदेकहरुको सर्टलिष्ट गर्दै छौँ । त्यसको प्रक्रिया चाँडै टुंगिन्छ । त्यसको लागि पनि म चितवन आएको छु’, उनले भने । आफ्नो सांसद पद खारेज भएपछि सबै कामहरु रोकिएको भन्दै उनले अब निरन्तरता दिने बताए । जनप्रतिनिधि सबै मतदाताको घर–घरमा पुग्न नसकेपनि पार्टीले बनाएको नीति मतदाताको घर–घरमा पुग्नुपर्ने बताए ।
जनप्रतिनिधिको भिजनलाई सार्थक बनाउनेगरी काम गर्न सिईओ राख्न लागिएको उनले बताए । ‘सबैसँग सहकार्य गर्न सकियोस् र जनप्रतिनिधि मतदातासँगै भएको महसुस् गराउन सकोस् भनेर सिईओको अवधारणा ल्याइएको हो । यो नयाँ अवधारणा अभ्यास गर्न खोजिएको हो’, उनले भने ।
चितवन २ बाट निर्वाचित सांसद समेत रहेका लामिछानेले आफ्नो क्षेत्रको स्थानीय तहका जनप्रतिनिधिसँग समन्वय गरेर काम गर्ने बताए । आफु निर्वाचित भएको एक महिना पनि नपुगेको भन्दै उनले बजेटमा योजना पार्ने विषयमा स्थानीय तहका जनप्रतिनिधिसँग समन्वय गर्न नभ्याएको बताए ।
‘म एक महिना अघिसम्म सांसद नै थिइन् । मैले यो वर्षलाई योजनाको वर्ष भनेको छु । आगामी दिनमा सहकार्य गर्ने छौँ । सहकार्यको वातावरण बनाउने समय बाँकी नै छ । सबैसँग कुराकानी गरेर हामी अगाडि बढ्छौँ’, उनले भने ।