रत्ननगर । टाँडीस्थित एटुजेड मोबाइल हाउसको शोरुमबाट मोबाइल, ल्यापटप र घडी चोरी गर्ने दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा एक नाबालक र मकवानपुर राक्सिराङ गाउँपालिका–४ घर भई हाल खैरहनी नगरपालिका–१ ज्यामिरे बस्ने २२ वर्षीय कृष्ण तामाङ रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय , चितवनले पत्रकार सम्मेलन गरी यसबारे जानकारी दिएको हो । प्रहरीका अनुसार उनीहरुलाई भदौ १७ गते राती १ बजेको समयमा खैरहनी–२ सिमलघारीबाट पक्राउ गरिएको थियो ।
उनीहरुको साथबाट विभिन्न कम्पनीका मोबाइल १९ थान, ल्यापटप एक थान, घडी चार थान र चोरीमा प्रयोग भएको एउटा साइकल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्य थापाले जानकारी दिए । उनीहरुलाई तीन वर्ष कैद र तीस हजार रुपैयाँसम्म जरिवाना हुन सक्ने कानुनी व्यवस्था छ ।
भदौ १२ गते बिहान उक्त मोबाइल हाउसको शोरुमबाट विभिन्न कम्पनीका मोबाइल १९ थान, डमी मोबाइल १२ थान, ल्यापटप एक थान र घडी ४ थान चोरी भएको थियो ।