चितवन । चितवन प्रहरीले चोरीका मोटरसाइकलसहित भरतपुर महानगरपालिका–२१ पार्वतीपुर बस्ने ३१ वर्षीय रोदित श्रेष्ठ र बारा कलैया उपमहानगरपालिका–६ बस्ने २५ वर्षीय कृष्ण साहलाई पक्राउ गरेको छ । प्रहरीले चोरीका पाँच मोटरसाइकल र चोरीमा प्रयोग हुने विभिन्न सामग्रीसहित उनीहरुलाई पक्राउ गरेको हो ।
उनीहरुले विभिन्न स्थानबाट मोटरसाइकल चोरी गर्ने र चोरहरुबाट अर्काे व्यक्तिले त्यस्ता मोटरसाइकल खरिद गरी नम्बर प्लेट परिवर्तन गर्नेदेखि अन्य मोटरसाइकलमा पार्टपुर्जा फेर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
चोरीका मोटरसाइकलहरु रोदित श्रेष्ठले खरिद गरी ल्याउने र आफ्नो पार्वतीपुरस्थित आफ्नो घरमा संचालन गरेको मोटरसाईकल वर्कशपमा लुकाईछिपाई राखी पार्टपुर्जाहरू निकाल्ने गरेको पाइएको चितवन प्रहरी प्रमुख एसपी ओमप्रसाद अधिकारीले बताए । त्यस्तै, लिलाम तथा ग्राहकहरूसँग खरिद गरी ल्याएको पुराना मोटरसाईकलमा चोरीका मोटरसाईकलको नयाँ पार्टपुर्जाहरू राखी मर्मत गरी तयार गरी महँगो मुल्यमा बेचबिखन गर्दै आएको बुझिएको उनले बताए ।
रोदित श्रेष्ठले चोरीका मोटरसाईकल आफ्नो घर नजिकै बल बहादुर श्रेष्ठको घर पछाडी टहरो बनाएर कोठामा लुकाईछिपाई राखेको छ भन्ने सुचनाको आधारमा प्रहरीले भदौ ७ गते उक्त स्थानमा खानतलासी गरेको थियो । खानतलासी गर्दा बुलेट मोटरसाइकल दुई वटा, पल्सर २२० सिसिको मोटरसाइकल दुई वटा, पल्सर एनएस एउटा, नम्बर परिवर्तन गरिएका ना २८ प २६५४ र ना २२ प ६०६६ नम्बरको मोटरसाईकलको भाइजर दुई वटा र मोटरसाइकल चोरी तथा खोल्न प्रयोग गरिने बिभिन्न सामाग्रीहरू फेला परेको थियो ।
उनीहरुको साथबाट मोटरसाईकल चोरीमा प्रयोग हुने तथा मोटरसाईकल खोलजोड गर्ने पार्टपुर्जा, चोरीका पुराना सामान झिकिएका मोटरसाईकल, मोटरसाईकलको विभिन्न किसिमका पार्टपुर्जा, सवारी दर्ता प्रमाण पत्र ४५ वटा र विभिन्न जिल्लाका नागरिकता प्रमाण पत्रको खाली कार्ड १८ वटा बरामद गरिएको अधिकारीले बताए ।
पक्राउ परेका व्यक्ति उपर चोरी कसुरमा चितवन जिल्ला अदालतबाट भदौ ८ गते म्याद अनुमति लिएर थप अनुसन्धान गर्ने कार्य भइरहेको उनले बताए । उनीहरुलाई ३ वर्ष कैद र तीस हजार रुपैयाँसम्म जरिवाना सजाय हुने कानुनी व्यवस्था छ ।