चितवन । रत्ननगर जेसीज सप्ताहको पहिलो दिन मंगलवार विहान उद्घाटन सहित ट्राफिक सचेतना कार्यक्रम गरेको छ । रत्ननगर जेसीजको आयोजना र रत्ननगर ट्राफिक प्रहरी कार्यालयको समन्वयमा ट्राफिक सचेतना कार्यक्रम गरिएको हो ।
रत्ननगर जेसीजका अध्यक्ष अमित कुमार गुप्ताको अध्यक्षतामा भएको कार्यक्रममा रत्ननगर नगरपालिकाका उपप्रमुख यादव प्रसाद पाठक प्रमुख अतिथि रहेका थिए ।
प्रमुख अतिथि पाठकले दुर्घटना न्यूनीकरण गर्न सबै पक्ष जिम्मेबार बन्नुपर्ने बताएका थिए । अनुशासित भएर ट्राफिक नियमको पालन गर्न सके मात्रै दुर्घटना न्यूनीकरण हुने उनको भनाई छ ।
समाजमा सुधार ल्याउन हिडेकाहरु आफैं पहिला नमुना बनेर प्रस्तुत हुन सक्नुपर्ने उनको तर्क थियो । समाजको परिवेश पहिला भन्दा अहिले थोरै भिन्न र बिकृति तर्फ उन्मुख हुन लागेकोमा चिन्ता ब्यक्त गर्दै मानिसमा अनुशासनमा ह्रास आएको बताए । जनप्रतिनिधि र जनताको जुन सहकार्य हुनुपर्ने हो त्यो नभएको पाएको अनुभब साट्दै कार्यक्रमको संचालन ढाँचामा सुधार ल्याउन आयोजकलाई सुझाब दिएका छन् ।
रत्ननगर वडा नं. १ का वडा अध्यक्ष कुल प्रसाद सापकोटाले रत्ननगरमा बढ्दो दुर्घटना न्यूनीकरण गर्न सचेतनामूलक कार्यक्रमले केही हदसम्म सहयोग पुग्ने बताए ।
उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य तथा रत्ननगर उद्योग बाणिज्य संघका अध्यक्ष अनिल कृष्ण श्रेष्ठले सडक सुरक्षा, ट्राफिक नियम चिह्न तथा संकेतहरु, सवारी चलाउँदा सवारीमा यात्रा गर्दा अवलम्बन गर्नुपर्ने सुरक्षा सतर्कताका सम्बन्धमा यो कार्यक्रमले दुर्घटना न्यूनीकरणमा मद्धत पुग्ने विश्वास व्यक्त गरे ।
रत्ननगर ट्राफिक प्रहरी कार्यालयका प्रमुख कृष्ण ज्यू ठकुरीले पूर्वी चितवनको रत्ननगर, पर्सा र भण्डारा क्षेत्रमा धेरै सवारी दुर्घना हुने भएकाले ट्राफिक सचेतना गर्नुपर्ने आवश्यक रहेको बताए । ट्राफिक सचेतनामा जोड दिए संगै यस क्षेत्रहरुमा सवारी दुर्धटनामा कमी आएको उनको भनाई छ ।
कार्यक्रममा रत्ननगर जेसीज वर्ष २००७ का अध्यक्ष निरज श्रेष्ठ, नारायणगढ जेसीजका अध्यक्ष अमर घिमिरे , सौराहा लेडिज जेसीजकी अध्यक्ष मञ्जु महतो, सौराहा जेसीजका अध्यक्ष सुरेश भुषाल, देवघाटधाम जेसीजका अध्यक्ष विष्णुहरी सापकोटा, नारायणगढ लेडिज जेसीजकी अध्यक्ष सुस्मिता श्रेष्ठ, माडी जेसीजका अध्यक्ष सुवास गौतम, राप्ती जेसीजका अध्यक्ष सुजन थापा काजी लगाएतको सहभागिता रहेको थियो ।
जेसीज सप्ताह उद्धघाटन तथा ट्राफिक सचेतना कार्यक्रमको संयोजक विपिन्द्र घिमिरे रहेका थिए । रत्ननगर जेसीजका महासचिव नरहरी पुरीले सञ्चालन गरेको कार्यक्रममा रत्ननगर जेसीजका कार्यकारी उपाध्यक्ष तथा कार्यक्रम मूलसंयोजक सुरेशजंग पाण्डेले स्वागत मन्तव्य राखेका थिए ।