चितवन । दशलाख रुपैयांँ नगद सहित आफू अपहरणमा परेको नाटक गरेको आरोपमा एक महिला भरतपुरबाट पक्राउ परेकी छिन ।
पक्राउ पर्नेमा बारा जिल्ला कोल्बी स्थायी घर भई हाल भरतपुर महानगर पालिका वडा १२ बस्ने ४५ बर्षीया राजकुमारी चौधरी रहेकी छिन । जिल्ला प्रहरी कार्यालय, चितवनका प्रवत्ता सूर्य बहादुर थापाका अनुसार ती महिलाले विभिन्न व्यक्तिबाट ऋण रकम लिएर तिर्नपर्ने रकमको भाखा नाघेपछि अपहरणको नाटक गरी मंगलबार गलत सूचना दिएकी थिइन । ‘पहिला ऋण दिने मान्छेलाई अपहरणमा परेको भनेर कल गरेकी रहिछन । त्यो व्यक्तिले कार्यालयमा खबर गर्न आए । थापाले भने, पछि हाम्रै एसपी साबले महिलालाई कल गर्दा आफू रकमसहित अपहरणमा परेको भनेर गलत सूचना दिइन् ।’
ती महिलाले आफूलाई एनएमबी बैंक, मालपोत शाखाबाट रकम निकालेर आउने क्रममा अपरिचित व्यक्तिले आफूलाई अपहरण गरी जंगल नजिकको झुपडीमा बन्धक बनाएर राखेको भनी गलत सूचना दिएकी थिइन । पटक पटक मोबाईल अफ र अन गर्दै आएकी उनको खोजी गर्ने क्रममा भरतपुरकै एक अस्पतालमा सरसफाई गर्ने महिला रहेको थाहा पाएपछि प्रहरीले आज सांँझ नियन्त्रणमा लिएको थापाले बताए । उनीमाथि थप अनुसन्धान भईरहेको र कानुन अनुसार कारवाही हुने प्रहरीले जनाएको छ ।

