चितवन। नेपालका लागि इजरायली राजदुत हनान गोडेर र कृषि तथा वन विज्ञान विश्वविद्यालयका पदाधिकारीहरूबीच आज यहाँ छलफल भएको छ । दुई देशका कृषिका विद्यार्थीलाई एक अर्को देशमा प्रयोगात्मक कक्षा एवं सीप आदान प्रदानका विषयमा सो अवसरमा छलफल भएको हो ।
सो अवसरमा दुई देशका कृषिका वैज्ञानिक र प्राध्यापकहरुबीच आधुनिक प्रविधि र उपलब्धिका विषयमा ज्ञान एवं सीप आदानप्रदान गर्नसकिने विषयमा पनि छलफल भएको थियो । छलफलमा राजदूत गोडेरले विश्वविद्यालयले छोटो अवधिमा गरेको उपलब्धिको प्रशंसा गर्दै दुई देशका बीचमा कृषि प्रविधिको ज्ञान एवं सीपलाई वैज्ञानिक, प्राध्यापक र विद्यार्थीका बीचमा आदानप्रदान गर्न आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । विश्वविद्यालयको फार्मदेखि प्रयोगशालासम्मको अवलोकनपछि उहाँले खुलेर त्यहाँको गतिविधिको प्रशंसा गर्नुभएको हो ।
छलफलमा विश्वविद्यालयका उपकुलपति प्राडा पुण्यप्रसाद रेग्मीले सहकार्यका लागि आवश्यक सहजीकरण गरिदिन राजदूत गोडेरलाई आग्रह गर्नुभयो । रजिष्टार प्राडा शारदा थपलिया र अनुसन्धान तथा प्रसार निर्देशक प्राडा अर्जुनकुमार श्रेष्ठले विश्वविद्यालयले कृषि क्षेत्रमा गरेका उपलव्धिहरुका विषयमा प्रकाश पार्नुभएको थियो । सो विश्वविद्यालयका स्नातक अध्ययन गर्दै गरेका विद्यार्थीलाई कृषि उद्यमशीलतासम्बन्धी व्यावहारिक ज्ञान हासिल गर्न इजरायल पठाउन सहजीकरण गर्ने उद्देश्यले छलफलको आयोजना गरिएको हो । सरकारले ११ वर्षअघि कृषि, वन तथा पशु विज्ञानसँग सम्बन्धित विषयहरुको अध्ययन, अनुसन्धान र प्रसारलाई एकीकृत रुपमा अघि बढाउने उद्देश्यका साथ यो विश्वविद्यालय स्थापना गरेको हो ।