काठमाडाैं । अञ्जन विष्टको गोलमा नेपालले भारतविरुद्ध पहिलो मैत्रीपूर्ण खेलमा एक शुन्यको अग्रता लिएको छ ।
३६औँ मिनेटमा भारतका रक्षक चिङलेनसाना सिंहले गोलकिपर गुरप्रित सिंहलाई दिएको ब्याकपास बललाई अञ्जनले विष्टले नियन्त्रणमा लिएर गोल गरेका हुन् ।
त्यसअघि २६औँ मिनेटमा पनि नेपालका आयुष घलानले दायाँ भागबाट राम्रो क्रस गरे पनि फरवार्डद्वय नवयुग श्रेष्ठ र अञ्जन विष्ट चनाखो नहुँदा गोलको राम्रो अवसर खेर गयाे । नवयुग र अञ्जनले आयुषबाट त्यो बल क्रस आउँछ भन्ने अपेक्षा नगर्दा उनीहरू पोजेसनमा भएनन् ।
नेपालले आज पछिल्लो खेलको टोलीमा चार खेलाडी परिवर्तन गरेको थियो । पछिल्लो पटक अष्ट्रेलियाविरुद्ध खेलेको टोलीमा मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले रोहित चन्द, विशाल राई, सुनिल बल र एरिक विष्टको टोलीबाट हटाएका थिए । उनीहरूको स्थानमा आयुष घलान, दिनेश राजवंशी, तेज तामाङ, अञ्जन विष्टले पहिलो रोजाइमा स्थान बनाए । अष्ट्रेलियाविरुद्ध रातो कार्डको सामना गरेका कारण रोहित चन्द टोलीमा नपरेका हुन् ।
भारतले पछिल्लोपटक अफगानिस्तानविरुद्ध खेलेको टोलीमा दुई खेलाडी परिवर्तन गरेको थियो । आकाश मिश्रा लिष्टन कोलाको नयाँ खेलाडी हुन् ।