चितवन । ग्लोबल रिसाइक्लिन दिवसको अवसरमा शनिबार भरतपुरमा र्याली निकालिएको छ । मार्च १८ तारिखमा परेको दिवसको अवसरमा सरसफाई तथा पुनः उपयोगी वस्तु व्यवसायी संघ चितवनका आयोजनामा सचेतनामुलक र्याली निकालिएको हो ।
र्यालीमा ‘कुहिने र नहुहिने फोहोर छुट्याऔँ’, ‘फोहोर जथाभावी नफालौँ’ र ‘फोहोरबाट मोहर कमाऔँ’ लेखिएका प्ले कार्ड प्रदर्शन गरिएको थियो । नारायणगढको लायन्सचोकबाट सुरु भएको र्याली चौविसकोठी, अस्पताल रोडहुँदै अस्पताल चोकबाट मोडिएर टेलिकम हुँदै ट्राफिक रोड हुँदै चौविसकोठी पुगेको थियो ।
फोहोरको सहि व्यवस्थापन गरी त्यसबाट आम्दानी गर्न सकिन्छ भन्ने सचेतना बृद्धि गर्न र्यालीको आयोजना गरिएको सरसफाई तथा पुनः उपयोगी वस्तु व्यवसायी संघका अध्यक्ष शंकर बहादुर खत्री क्षेत्रीले बताए । र्यालीपछि चौविसकोठीमा आयोजित कार्यक्रममा बोल्दै उनले सरसफाई गर्ने व्यक्तिलाई सबैले माया गर्नुपर्ने बताए ।