चितवन । भरतपुर महानगरपालिका–११ स्थित कमलादेवी मन्दिर प्राकृतिक आरोग्य केन्द्रमा श्रीमद्देवीभागवत् नवाह भक्तिज्ञान महायज्ञ हुने भएको छ । आवासीय क्रियापुत्री भवन निर्माण र १०८ शिवलिंग स्थापनार्थ चैत ८ गतेदेखि १६ गतेसम्म महायज्ञ हुन लागेको हो ।
रामनवमीको अवसरमा आयोजना हुन लागेको महायज्ञमा करिब एक करोड रुपैयाँ संकलन हुने अनुमान गरिएको आयोजकले बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको हो । महायज्ञको प्रमुख वाचक पण्डित बुद्धिसागर भण्डारी ‘मृदुल’ रहने महायज्ञ संयोजक श्रीधर लामिछानेले बताए ।
महायज्ञ सञ्चालनका लागि आवश्यक पर्ने खर्च आयोजक समितिका सदस्यले नै व्यहोर्ने र संकलन भएको रकम क्रियापुत्री भवन निर्माणमा खर्चिने लामिछानेले बताए । चार बिगाह चार कठ्ठा जमिन रहेको कमलादेवी मन्दिरमा क्रियापुत्री भवन बनेपछि सनातन धर्मावलम्बीलाई क्रियाकर्म गर्न सहज हुने अपेक्षा गरिएको छ ।