तेह्रथुम । तेह्रथुममा ढाका कपडाको व्यापार घटेको छ । कोरोना भाइरस महामारीसँग डेढ वर्षयता ढाका कपडाको व्यापार प्रायः टप्प भएको हो ।मेसिनबाट समेत ढाका कपडा बन्न पाइने भए पनि तेह्रथुममा हातैले कलात्मक ढंगबाट ढाका कपडा बुन्ने गरिन्छ । त्यही भएर तेह्रथुमे ढाकाको माग हुन्थ्यो ।
चाडपर्वमा ढाका कपडाको अत्यधिक माग हुने गरे पनि महामारीका कारण व्यापार नै हुन छाडेको उज्वलता ढाका कपडा उद्योगका सञ्चालक उज्वलता सुब्वाले बताइन् ।महामारीभन्दा पहिलो दसैंताका १२ लाख रुपैयाँसम्मको ढाका कपडा बिक्री हुने गरेकामा अचेल मुस्किलले एक लाखसम्मको कारोबार हुने गरेको सुब्वाले बताइन् ।
तेह्रथुमको ढाका हङकङ, युके, सिंगापुर, भारत लगायतका देशमा पनि निर्यात हुथ्यो । कोरोनाका कारण ढाका व्यवसाय संकटमा परेकाले सरकारले उद्यमीलाई सरल व्याजमा ऋण दिनुपर्ने ढाका व्यवसायी श्रृजना लिम्वुको भनाइ छ ।
उद्यमीले हातैले बुनेर ढाकाको टोपी, साडी, कुर्ता सरवाल, पछ्यौरा, चौबन्दी चोलो, रुमाल, टप्स, स्काफ, टाई, पर्स, दौरा सुरुवालकोट, झोला, जुत्ता, चप्पललगायतका सामग्री बनाउँदै आएका छन् ।