काठमाडौं । नेपाल र भारतबीचको दुई मैत्रीपूर्ण फुटबल खेल दर्शकविहीन हुने सम्भावना बढेको छ । बिहीबार र आइतबार नेपालले भारतसँग दुई मैत्रीपूर्ण फुटबल खेल खेल्ने कार्यक्रम छ । दुवै खेल दशरथ रंगशालामा साँझ साढे ५ बजे हुने छ ।
खेल हुन दुई दिनमात्रै बाँकी हुँदासमेत दर्शकको विषयमा नेपाली फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा) ले ठोस निर्णय दिन सकेको छैन ।
राष्ट्रिय खेलुकद परिषद् (राखेप), खेलकुद मन्त्रालयमार्फत कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) मा एन्फाले पठाएको पत्रको सुनुवाइ भएको छैन । पछिल्लो समय एन्फाले कोभिडरिुवद्ध खोप लगाएका दर्शक अथवा दर्शक क्षमताको २५ प्रतिशत मात्रै भए पनि राख्ने सर्तसहित सिसिएमसीमा पत्र पठाएको थियो ।
तर पछिल्लो समय सिसिएमसीको बैठक नबस्दा एन्फाको पत्र रोकिएको छ । यदि यो दुई दिनभित्र मात्रै सिसिएमसीको बैठक बसेर स्वीकृत पाएमा एन्फा दर्शक रंगशालामा प्रवेश दिने रणनीतिमा छ ।
‘दर्शकको विषयमा कुनै निर्णय भएको छैन । हामी सिसिएमसीको निर्णय कुरेर बसेका छौं,’ एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले भने, ‘बिहीबार बिहानसम्म पनि स्वीकृति पाए हामी दर्शकलाई प्रवेश दिनेछौं ।’