काठमाडौं । श्रीलंकन एयरलाइन्सले आजदेखि काठमाडौ–श्रीलंका सिधा उडान गर्ने भएको छ । एयरलाइन्सलाई सातामा दुई उडानका लागि अनुमति दिइएको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण क्यानले जनाएको छ ।
क्याका प्रवक्ता राजकुमार क्षेत्रीका अनुसार श्रीलंका एयरले आगामी सेप्टेम्बर ४ तारिखसम्मका लागि उडान अनुमतिका लागि निवेदन दिएको हो । कम्पनीले अवस्था हेरेर थप उडानका अनुमति लिने छ ।
उक्त एयरलाइन्सले भैरहवास्थित निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्ने इच्छा व्यक्त गरेको छ । भैरहवामा कम्तीमा एक उडान गर्ने भनिए पनि सो उडान दैनिक या सातामा एक पटक भन्ने यकिन भइसकेको छैन ।
नेपालका लागि आधिकारिक ट्राभल एजेन्सी जेनिथ ट्राभल प्रालिका अनुसार श्रीलंकाबाट नेपाल आउने धार्मिक पर्यटक र रोजगारीका लागि श्रीलङ्का जाने नेपालीलाई लक्षित गरेर उडान सुरु गरिएको हो ।
हाल सो एयरलाइन्सले साउदी अरेबिया, कतार, माल्दिभ्स र दुबईमा उडान गरिरहेको छ । आगामी सेप्टेम्बरदेखि जापान, अस्ट्रेलिया र लन्डनमा पनि उडान सुरु गर्ने योजना बनाएको छ ।