चितवन । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेलले सरकारले राष्ट्रिय आवश्यकता योजनाई प्राथमिकतामा राख्नुपर्ने बताएका छन । रत्ननगर उद्योग वाणिज्य संघ र रोटरी क्लब अफ रत्ननगरले संयुक्तरुपमा सोमबार आयोजना गरेको चितवनको विकासको सम्भावना विषयक अन्तक्र्रिया कार्यक्रममा उनले जुनसुकै सरकार भएपनि एयरपोर्ट, खानेपानी आयोजना तथा सडक निर्माणको कामलाई महत्व दिएर काम गर्र्नु पर्ने बताएका हुन् ।
‘हामीले बजेट बाँड्न सक्छौँ’ तर ‘विकास गर्न भने सकिरहेका छैनौं । डाक्टर पौडेलले भने ।
विदेश भ्रमण र फजुल खर्चका लागि बजेट उपलब्ध भएपनि राष्ट्रिय आवश्यकताको आयोजनाको काम भने तत्परता नदेखाईएका कारण देश पछाडि परेको उनको भनाई थियो ।
उपाध्यक्ष पौडेलले सरकारले काम गर्न नसक्ने गरी बजेट ल्याइने भएका कारण विकासमा असफल हुंँदै आएकोे बताए । ‘सरकारले विनियोजन गरेको बजेट खर्च गर्नै सक्दैन’, उनले भने, ‘यसबाट कसरी विकासको परिकल्पना गर्न सकिन्छ ।’
विकासको गतिलाई अगाडि बढाउन विकास खर्च बढाउनुपर्ने उनले सुझाव दिए । वार्षिकरुपमा मुस्किलले ६५ प्रतिशत विकास खर्च हुने गरेको भन्दै उपाध्यक्ष पौडेलले काम गर्न सक्ने गरी सरकारले बजेट ल्याउनुपर्ने बताए । ठूला आयोजना निर्माणका लागि पर्याप्त बजेट विनियोजन नगर्दा त्यस्ता आयोजनाहरु अलपत्र पर्ने गरेको उनको भनाइ छ । ‘सरकारले बजेट बनाएपनि अधिकांश आयोजनाहरु निर्माण सम्पन्न नहुँदै अलपत्र पर्ने गरेको उनले बताए ।
उपाध्यक्ष पौडेलले विगत तीन वर्षदेखि योजना आयोगको भूमिकालाई खुम्च्याइएको समेत बताए । उनले योजना आयोगलाई बलियो बनाउँदै जनताको पक्षमा काम गर्ने बनाउनु आफूमाथि ठूलो जिम्मेवारी रहेको बताए । योजना छनोटमा आयोगको हस्तक्षेपकारी भूमिकाको अन्त्य गर्दै स्थानीय र राष्ट्रिय आवश्यकताका आधारमा बजेट र योजना पर्ने काममा आफू लागिपर्ने उनको भनाइ छ ।
उनले चितवनको पर्यटनको विकासका लागि गुरूयोजना, शिक्षाको विकासका लागि प्राविधिक शिक्षा र कृषिको विकासका लागि आधुनिकीकरण आवश्यक रहेको बताए । रत्ननगर अस्पताललाई मेडिकल कलेजको रुपमा विकास गर्न आफू सकारात्मक रहेको भन्दै सम्भावना बोकेको सो अस्पताललाई छिटै मेडिकल कलेजको रुपमा अगाडि बढाउने गरी योजनामा समेट्ने प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रममा जिल्ला समन्वय समितिका सभापति कृष्णकुमार डल्लाकोटीले उपाध्यक्ष पौडेलसमक्ष चितवनको विकासका लागि गर्नैपर्ने योजनाहरु प्रस्तुत गरेका थिए । उनले मझिमटार–शक्तिखोर टनेलमार्ग, लोथर–टिकौली चार लेन सडक, लोथर, राप्ती, पम्पा, लदरी र कायर खोला तटबन्ध, कालिकाको १७४१ बिघामा औद्योगिक मार्ग, खैरहनी वडा नं–४, कुनाघारी भूत्याहामा रामपुर कृषि क्याम्पसको स्थापना, लोथरदेखि पटिहानीसम्म निकुञ्ज क्षेत्रमा मेस फिनिसिङ वाल, नारायणी नदीमा वैकल्पिक पुल, शहीद स्मृति कलेजको पूर्वाधार निर्माणलगायतका योजना प्रस्तुत गरेका थिए ।
संघका अध्यक्ष अनिलकृष्ण श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा रत्ननगरका मेयर नारायण वन, कालिकाका मेयर खुमनारायण श्रेष्ठ, जिल्ला आयुर्वेद अस्पतालका अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठ, खैरहनी उद्योग वाणिज्य संघका अध्यक्ष दिपेन श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।