चितवन । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन ईकाइअन्तर्गत चितवनको मौरी जोन सञ्चालन समन्वय समितिमा रामप्रसाद पौडेल चयन भएका छन ।
समितिको दोस्रो साधारण सभाले रामप्रसाद पौडेलको संयोजकत्वमा ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । समितिको सहसंयोजकमा विकास नेपाल क्षेत्री, सचिवमा सरिता भट्टराई श्रेष्ठ, सहसचिवमा दिनेश चेपाङ रहेका छन् ।
यस्तै सदस्यहरुमा एरोन मोक्तान, मनु गुरूङ, कान्छीमाया तामाङ, अशोककुमार जिम्बा र पानबहादुर तामाङ रहेका छन् । कार्यविधिअनुसार समितिले मौरी जोनअन्तर्गतका कृषकबीच प्रविधिको विस्तारमा सहयोग, योजना तर्जुमा छनोट लगायतका जिम्मेवारी हुन्छ ।
चितवनमा चालू आर्थिक वर्ष एक हजार तीन सय मौरीघार वितरण, मौरीका लागि मेसिनरी औजार, रानी मौरी उत्पादन उपकरण, मह ब्रान्डिङ, स्थलगत प्राविधिक सेवालगायतका योजना रहेका छन् । यी कामका लागि जोन समन्वय समितले सहयोग गर्नेछ ।
प्रमुख अतिथि कृषि ज्ञान केन्द्र चितवनका प्रमुख युवराज पाण्डेले सहमतिमा मौरी जोन सञ्चालन समन्वय समितिको गठन हुनु सकारात्मक भएको भन्दै प्रदेश अन्तर्गतका कार्यक्रमहरुमा समेत मौरी व्यवसायलाई प्राथमिकता दिने बताए ।
परियोजना कार्यान्वयन ईकाइ चितवनका प्रमुख विनोदकुमार भट्टराईले यसवर्ष सृजनात्मक कार्यक्रमहरुमा सहभागी हुन सबै सूचीकृत कृषकहरुलाई अनुरोध गरेका थिए । मौरीपालन विकास कार्यक्रम भण्डाराका गोविन्दप्रसाद पोखरेलले सबै मौरीपालक कृषकहरु र सरोकारवालासँग समन्वयमा कार्यक्रम सञ्चालन हुने बताए ।
कार्यक्रमका संयोजक धर्मराज लामाले पेश गरेको आर्थिक आयव्यय विवरण र सचिव विकास नेपाल क्षेत्रीले पेश गरेको वार्षिक प्रगति प्रतिवेदन संशोधनसहित पारित भएको थियो ।