प्योङयाङ । उत्तर कोरियाले आफ्नो एक महत्वपूर्ण आणविक केन्द्र सुचारु गरेको छ । प्योङयाङले योङबायोन आणविक केन्द्र सुचारु गरेको राष्ट्रसंघको आणविक निकायले जनाएको हो । केन्द्रबाट आणविक बिस्फोटमा प्रयोग हुने प्लुटोनियम उत्पन्न भइरहेको अन्तर्राष्ट्रिय आणविक उर्जा निकाय (आइएइए) ले जनाएको हो ।
योङवायोन आणविक भट्टीबाट जुलाईदेखि चिसो पानी बगिरहेकोले उत्तरले आफ्ना आणविक गतिबिधि सुचारु गरेको पुष्टि भएको आइएइएको भनाई छ । पाँच मेगावाट रेक्टरको योङवायोन केन्द्र उत्तर कोरियाको महत्वपूर्ण आणविक भट्टी हो ।
सन् २०१८ मा अमेरिकाका तत्कालिन राष्ट्रपति डोनाल्ड ट्रम्प र कोरियाली नेता किम जोङ उनबीचको भेटवार्तापछि सो आणविक भट्टीलाई प्योङयाङले बन्द गरेको थियो. । आइएइएका अनुसार सो केन्द्र परिसरमा रेडियो केमिकल प्रयोगशाला छ । केन्द्र बिगत पाँच महिनादेखि सञ्चालनमा आएको जनाइएको छ ।
केन्द्र वरपर भएका गतिविधि राष्ट्रसंघको सुरक्षा परिषदको निर्णय विपरित भएको आइएइएले जनाइएको छ । यसैबीच दक्षिण कोरियाले उत्तर कोरियाका गतिविधिलाई चासोपूर्वक हेरेको दक्षिण कोरियाको समाचार संस्था योनहापले जनाएको छ ।