काठमाडौं । दार्चुलाका विभिन्न भेगमा गएराति बाढीपहिरोमा परी एक जनाको मृत्यु हुनुका साथै चार जना बेपत्ता भएका छन् । बाढीले घर, पुल र लघुजलविद्युत् समेत बगाएको छ । दुहु गाउँपालिका–१ बासपालिकामा पहिरोले घर पुर्दा स्थानीय नरसिंह महरको मृत्यु भएको छ । उनकी पत्नी बेपत्ता छिन् ।
राति सुतिरहेकै अवस्थामा घरमाथिबाट खसेको पहिरोले उनीहरू पुरिएका हुन् । सोही गाउँपालिकाको वडा नम्बर ५ दुल्लामा बाढीले मनुवा डँडाल बेपत्ता छन् । घटनामा उनकी पत्नी घाइते छिन् । सोही ठाउँका अर्का स्थानीय जनकराम पार्कीको घाइते अवस्थामा उद्धार गरिएको छ ।
बाढीमा पाँचवटा पसल, दुईवटा लघु जलविद्युत् आयोजना, चारवटा झोलुंगे पुल र एउटा पक्की पुल पनि बगेका छन् । त्यस्तै वडा नम्बर ३ नबर निजमगाडमा बाढीले दुई जना बेपत्ता छन् ।
सोही बाढीले दार्चुला–तिंकर सडक मोटरेबल पुल, दुइटा झोलुंगे पुल र एउटा पसल बगाएको छ । पुल बग्दा दुहु र व्यास गाउँपालिकाबीचको आवतजावत टुटेको छ । निजमगाड खोलाकै बाढीले महाकाली नगरपालिका–१ सिरिबगरका तीनवटा घर र एउटा पसल बगाएको छ । सेना, प्रहरी र स्थानीय बासिन्दा मिलेर बेपत्ताहरूको खोजी गरिरहेका छन् ।