सीएनएन । विश्वका दुई सबैभन्दा धनी व्यक्तिहरु : अमेजोनका जेफ बेजोस र टेस्लाका मालिक एलन मस्क यतिबेला नासाको चन्द्रमा मिसनमा केन्द्रमा आउन होडबाजी गरिरहेका छन् । नासाले चन्द्रमाबाट आफ्ना अन्तरिक्षयात्रीहरु फर्काउँदा दुवै सो ऐतिहासिक घटनाको केन्द्रमा रहन चाहन्छन् । तर नासासँग उनीहरु मध्ये एकजनासँग मात्र सम्झौता गर्न सक्ने रकम छ । र नासाले यसमा एलन मस्कको कम्पनी ‘स्पेस एक्स’ लाई छनोट गरेको छ जसले बेजोसको कम्पनी ‘ब्लु ओरिजिन’ लाई आक्रोशित बनाएको हो ।
दुवै अर्बपतिहरुका आफ्नै स्पेस कम्पनी छन् र उनीहरु सँगसँगै जस्तो चन्द्रमामा अवतरण गराउने यान निर्माण गर्नमा जुटेका छन् । तर दुवैले नासालाई चन्द्रमा मिसन सम्बन्धी फरक किसिमको प्रस्ताव गरेका हुन् । यसमा मस्कको स्पेस–एक्सले ‘स्टारशीप यान’ को प्रयोग गर्ने योजना बनाएको छ । स्टारशीप एक अत्यन्तै ठूलो रकेट एवम् ‘स्पेसक्राफ्ट सिस्टम’ हो जसले कुनैदिन मंगल ग्रहमा कब्जा गर्ने मस्कको अपेक्षा छ ।
उता बेजोसको ब्लु ओरिजिनले चाहिँ २० औँ शताब्दीमा नासाले मान्छे सहितको पहिलो चन्द्रमा मिसन, अपोलोका लागि प्रयोग गरेको जस्तै यान निर्माण गर्ने सिधा योजना प्रस्तुत गरेको थियो ।
तर अमेरिकी सरकारले यस मिसनका लागि नासालाई २ अर्ब डलरको बजेट मात्र दिलाउने भएको हो जुन नासाले अनुरोध गरे भन्दा धेरै कम हुन जान्छ । त्यसैले नासाले यसका लागि मानव अवतरण प्रणाली निर्माण गर्न स्पेस एक्सलाई छनोट गरेको हो ।
तर बेजोसको ब्लु ओरिजिनले नासाको सो निर्णय अन्यायपूर्ण भएको भन्दै बारम्बार लडाईँ गरिरहेको छ ।
२०२४ मा सञ्चालन गर्ने भनिएको नासाको यस नयाँ चन्द्रमा मिसन, ‘आर्टेमिस प्रोग्राम’ मा दुईजना यात्रीलाई सहभागी गराइने तय भएको छ । यसमा पहिलोपटक महिला र अश्वेत व्यक्तिले चन्द्रमामा पाइला टेक्नेछन् । यो मिसनको दीर्घकालीन लक्ष्य भनेको चन्द्रमामा यान स्थापित गराउनु हो ।
यसका लागि बेजोसको ब्लु ओरिजिनले ६ अर्ब डलरको प्रस्ताव राख्यो भने मस्कको स्पेस एक्सले चाहिँ ३ अर्ब डलरको बजेट प्रस्तुत गरेको थियो । त्यसैले नासाले अमेरिकी सरकारबाट प्राप्त बजेट हेरेर स्पेस एक्सलाई चयन गर्यो । तर ब्लु ओरिजिनले नासाको सो निर्णय निस्पक्ष नभएको आरोप लगाउँदै आएको छ ।
सरकारी निकायका सम्झौताबारे यस किसिमको विरोध आउनु एकदम दुर्लभ मानिन्छ । र सरकारी जवाफदेही कार्यालय (जीएओ) ले सबै आरोप अस्वीकार गरेको हो । जीएओका अनुसार नासाले स्पेस–एक्ससँग सम्झौता गर्नु अघि सबै कुराको राम्ररी मूल्यांकन गरेको थियो जुन तुलनात्मक रुपमा धेरै सस्तो र प्राविधिक हिसाबले पनि सबैभन्दा आधुनिक किसिमको पनि रहेको बताइएको छ ।
तर बेजोसले व्यक्तिगत रुपमा समेत सो सम्झौतामा हस्तक्षेपको प्रयास गर्दै नासाको प्रशासनलाई खुला पत्र पठाएका हुन् ।
त्यसमा उनले आफ्नो कम्पनीलाई सहभागी गराएमा आफूले निर्माण गर्ने उपकरणमा २ अर्ब डलरको छुट दिने प्रस्ताव पेश गरेका हुन् । उनका अनुसार प्रतिस्पर्धा बिना नासाको छोटो अवधि या दिर्गकालीन चन्द्रमा मिसन दुवैमा धेरै ढिलाइ हुनेछ जसको परिणाम स्वरुप खर्च बढ्नेछ र राष्ट्रिय हित विपरित पनि हुनेछ । तर उनका ती अनुरोधको केही जवाफ आएन ।
यसपछि बेजोसको कम्पनी, ब्लु ओरिजिनले यसै हप्ता मात्र आफ्ना दाबीहरु राखेर कानुनी मुद्दा नै चलाएको हो । यति मात्र नभएर ब्लु ओरिजिनले स्पेस एक्सको योजना सम्बन्धी ‘इन्फोग्राफिक्स’ सार्वजानिक गर्दै स्टारशीप यान अत्यन्तै जटिल र उच्च जोखिमयुक्त भएको देखाएको थियो ।
यसको प्रतिक्रियामा एलन मस्कले व्यक्तिगत ट्वीट गर्दै ‘वकिलहरुले अन्तरिक्ष पथमा पुर्याउन सक्ने भए, बेजोस यतिबेला ‘प्लुटो’ मा हुने थिए’ भनेर व्यङ्ग्यात्मक जवाफ दिएका हुन् ।
बेजोसको मुद्दा सम्बन्धी फैलला अक्टोबर १२ मा हुने भनिएको छ । यी सबै घटनालाई बाहिरबाट हेरिरहेका र केही उद्योग भित्रकै विज्ञहरुले पनि आलोचना गरिरहेका छन् । अनायासको मुद्दाले बेकारमा स्पेस एक्सलाई अवरोध गर्ने र चन्द्रमा अवतरणको कार्यक्रममा ढिलाइ हुने तिनको भनाइ छ ।
नासाकी पूर्व प्रशासक लोरी गार्भरले भने ब्लु ओरिजिन र स्पेस एक्सबीच हाल चलिरहेको विवाद वास्तवमा अन्तरिक्ष उद्योगका लागि अप्रत्याशित र उत्साहजनक समय भएको बताइन् । उनले भनेकी छन्, “नासाको मिसनका लागि दुईजना अर्बपतिहरु लड्नु र खर्च गर्न तयार हुनु भनेको अनपेक्षित कुरा हो । त्यसैले नासा वास्तवमा धेरै भाग्यशाली छ भन्न सकिन्छ । ”