तेह्रथुम। ‘मिहिनेत गरेमा गाउँमै राम्रो आम्दानी गर्न सकिन्छ’ भन्ने उदाहरण बनेका छन्, छथर गाउँपालिका-१ आङदिमक लोकबहादुर बस्नेत र उनका श्रीमती प्रेमकुमारी । यो दम्पती बिहानीसँगै साँझ झमक्क नहुन्जेल ‘सुशील बाख्रापालन फार्म’मा बाख्राको स्याहारमै रमाइरहेको छ ।
कुनै बेला पैसा कमाउन विदेश हानिएका उनी स्वदेशमै बाख्रा पालनबाट मनग्गे आम्दानी गरिरहेका छन् । २०७० मा चार बाख्राबाट व्यवसाय सुरु गरेका उनले ४० वटा बाख्रा पुर्याएका छन् ।
उनको बाख्रापालन व्यवसायमा श्रीमती प्रेमकुमारीले साथ दिएकी छन् । पछिल्लो समय उनले फार्ममा बयर जातका पाठापाठी उत्पादन सुरु गरेका छन् ।
बयरजातको पाठापाठी महँगो भए पनि आम्दानी राम्रो हुने गरेको छ । तीन छोरा, एक छोरीका बुवाआमा बस्नेत दम्पती गाउँमै नमुना व्यवसायी बनेका छन् । बाख्रापालनको आम्दानीले घरखर्चसँगै बचतसमेत भएको प्रेमकुमारीले बताइन् ।