नयाँ दिल्ली/वासिङ्टन । तालिबान विद्रोहीहरूले सत्ताकब्जा गरेपछि त्रास फैलिइरहेका बेला अफगनिस्तानमा भूकम्पले अर्को त्रास थपिदिएको छ ।
स्थानीय समयानुसार शनिबार अफगानिस्तानको दक्षिणपश्चिमी क्षेत्रमा भूकम्प गएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् । उनीहरूका अनुसार ४.५ म्याग्निच्युडको भूकम्पका कारण आम नागरिकमा त्रास फैलिएको छ । यो समाचार लेख्दासम्म कुनै मानवीय क्षतिको विवरण प्राप्त नभएको पनि अधिकारीहरूले जनाएका छन् ।
भूकम्पले पारेको क्षतिका बारेमा थप विवरण आउन बाँकी रहेको र भूकम्प प्रभावित क्षेत्रमा खोजी तथा उद्धार कार्य जारी रहेको जनाइएको छ ।
अमेरिकाद्वारा एक दिनमा ६८ सयको उद्धार
अफगानिस्तान छाडेर बाहिरिन चाहेका व्यक्तिहरूलाई उद्धार गर्ने क्रममा अमेरिकाले थप ६ हजार ८०० लाई उद्धार गरेको छ । तालिबान विद्रोहीहरूले सत्ताकब्जा गरेपछि त्रासका कारण लाखौँ मानिसले अफगानिस्तान छोड्न चाहिरहेको अधिकारीहरूले जनाएका छन् ।
तीमध्ये हजारौँ व्यक्तिलाई अमेरिकी र अन्य विभिन्न देशका विमानले उद्धार गरेर विभिन्न देशमा लगिदिने गरेका छन् । यही अगस्ट १४ देखि अहिलेसम्म दैनिक हजारौँ मानिस अफगानिस्तान छाडेर अन्य देश गएका छन् । पछिल्लो २४ घण्टामा अमेरिकी विमानबाट मात्रै झन्डै ६ हजार ८०० मानिस बाहिरिएको अधिकारीहरूले जनाएका छन् ।
योसँगै अफगानिस्तानबाट अमेरिकाले अहिलेसम्म उद्धार गरेकाहरूको संख्या एक लाख ११ हजार ९०० पुगेको छ । अफगानिस्तानको केन्द्रीय राजधानी काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट उनीहरूलाई उद्धार गरिएको हो ।
अफगानिस्तान छोड्न चाहनेको भिड विमानस्थलमा निरन्तर लागेपछि उनीहरूलाई रोक्न बिहीबार विमानस्थलनजिकै बम विस्फोटन गराइएको थियो । विस्फोटनमा परी १०० भन्दा बढीको मृत्यु भएको छ । तर पनि त्यहाँ जम्मा हुने क्रम र उद्धार गर्ने क्रम चलिरहेको अधिकारीहरूले जनाएका छन् ।
बैंक बन्दको विरुद्धमा प्रदर्शन
राजनीतिक अवस्था परिवर्तनसँगै अफगानिस्तानको केन्द्रीय राजधानी काबुलमा रहेका बैंकहरू बन्द गरिएकोप्रति आपत्ति जनाउदै विरोध प्रदर्शन गरिएको छ । बैंकहरू बन्द हुँदा आर्थिक कारोबार गर्न नपाएर आम उपभोक्ता मर्कामा परेको भन्दै शनिबार काबुलमा विरोध प्रदर्शन गरिएको हो ।
प्रदर्शनमा सहभागी हजारौँ प्रदर्शनकारीले बैंकबाट प्रदान गरिने सेवा तत्काल सुरु गर्न माग गरेका थिए । प्रदर्शनमा महिलाहरूको पनि उल्लेख्य सहभागिता रहेको थियो । रासस/एएनआई