काठमाडौं। आगामी १७ र २० गते भारतसँग हुने दुई मैत्रीपूर्ण खेलको लागि नेपाल राष्ट्रिय फुटबल टोलीका डिफेन्डर रोहित चन्द उपलब्ध नहुने भएका छन् । इन्डोनेसियाको लिग वान अन्तर्गत पर्सिजा जाकर्तामा रहेका रोहित चन्द नयाँ सिजनको लिग सुरु हुने भएसँगै जाकर्ता पुगेका हुन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव इन्द्रमान तुलाधरले रोहित भारतबिरुद्धको दुबै खेलमा उपलब्ध नहुने जानकारी दिए । ‘लिग खेल्न रोहित जाकर्ता पुगेका छन् । उनी भारतविरुद्ध उपलब्ध हुने छैनन्,’ महासचिव तुलाधरले न्युज कारखानासँग भने ।
भारतविरुद्ध उपलब्ध नहुने भए पनि रोहित साफ च्याम्पियनसिपमा भने टोलीलाई उपलब्ध हुने तुलाधरले बताए ।
यता, रोहितले आफू ८ दिनको क्वारेन्टाइन पूरा गरि लिग खेल्न तयार रहेको बताएका छन् । उनले आफ्नो एजेन्ट टिकासँग डिनर गरिरहेको फोटो समेत पोस्ट गरेका छन् ।
कुवेती प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीको प्रशिक्षणमा नेपाल हाल पोखरामा अभ्यास गरिरहेको छ । रोहित पोखरामा चलिरहेको अभ्यास छाडेर पर्सिजा लागेका हुन् । रोहित प्रशिक्षक अब्दुल्लाहको अन्तिम २५ टोलीमा रहेका थिए ।
मैत्रीपूर्ण खेलका लागि भारतले नेपालविरुद्ध सुनिल क्षेत्रीको कप्तानीमा २५ सदस्यीय टोली घोषणा गरिसकेको छ । दुबै टोलीले आगामी साफ च्याम्पियनसिपको तयारी स्वरुप मैत्रीपूर्ण खेल खेल्न लागेका हुन् ।
साफ अक्टोबर १ देखि १६ सम्म माल्दिभ्सको मालेस्थित राष्ट्रिय रंगशालामा हुनेछ ।